छात्राको हत्यापछि अंगभंग गर्ने इतिहासकारलाई साढे बाह्र वर्ष कैद



मस्को, (एजेन्सी)

सेन्ट पिटर्सबर्गमा आफ्नी छात्रा एवं पार्टनरलाई गोली हानेर मारेपछि उनका अंगहरूका टुक्रा–टुक्रा पारेको कबुल गर्ने रुसका चर्चित इतिहासकारलाई एक अदालतले साढे बाह्र वर्ष लामो कारबास सजाय तोकेको छ । नेपोलियनकालीन युद्धका विशेषज्ञ मानिने ६३ वर्षीय इतिहासकार ओलेग सोकोलोभलाई २४ वर्षीया एनास्तासिया यसचेन्कोको हत्यामा दोषी करार गरिएको हो । सन् २०१९ को नोभेम्बरमा ब्याकप्याकमा यसचेन्कोका काटिएका अंग राखेर बोकेको तथा रक्सी खाएर बेस्सरी मातिएको अवस्थामा ओलेगलाई एउटा नदीमा फेला पारिएको थियो ।

महिला अधिकारवादी अभियन्ताहरूले यस घटनाले सरकारले महिला उत्पीडन र घरेलु हिंसाप्रति बेवास्ता गर्ने प्रवृत्तिप्रति प्रतिविम्बित भएको बताएका छन् ।सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटीले यसअघि पनि छात्राहरूले सोकोलोभविरुद्ध गरेका गुनासोप्रति गम्भीर नबनेको आरोप लगाउँदै शुरू गरेको अनलाइन याचिका–पत्रमा सात हजार पाँच सय जनाभन्दा बढी व्यक्तिले हस्ताक्षर गरिसकेका छन् ।

अहिले सोकोलोभलाई सो युनिभर्सिटी र फ्रान्सकै अर्को प्राज्ञ पदबाट समेत बर्खास्त गरिएको छ । अदालतसमक्ष उनले आफ्नो सटगनबाट यसचेन्कोमाथि चार पटक गोली प्रहार गरेको र त्यसपछि करौंती र तरकारी काट्ने छुराले अंगहरू काटेको तथ्य स्वीकारेका थिए । उनको ब्याकप्याकबाट एउटा स्टन पेस्तोल पनि बरामद गरिएको थियो । प्रहरीले मृतकका बाँकि अंगहरू नदीकै अन्य भाग र साकोलोभको फ्ल्याटबाट बरामद गरेका थिए ।

घटनाका बेला नेपोलियनकै पहिरनमा रहेका उनको लासलाई ठेगान लगाइसकेपछि आत्महत्या गर्ने मनसाय रहेको अनुसन्धानबाट खुल्न आएको छ । यसचेन्को थप अध्ययनका लागि रसियाको दक्षिणी क्षेत्र क्रास्नोदारबाट सेन्ट पिटर्सबर्गमा बसाइ सरेकी थिइन् । उनका एक सहपाठीले उनी शान्त, असल र मृदुभाषी रहेको रसियाको रिया समाचार निकायलाई बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्