मुडे–चरिकोट सडकको ठेक्का रद्द, नयाँ ठेक्का लगाउन माग



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाका नागरिक प्रतिनिधिहरुले मुडे–चरिकोट सडक खण्डमा भइरहेको सडक विस्तार र कालोपत्रेको काम अत्यन्त सुस्त रहेकोले हाल काम गरिरहेको निर्माण कम्पनिसँग ठेक्का रद्द गरेर नयाँ ढङ्गले निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन् । यूएसएआईडी र एफएचआई ३६० परियोजनाको सहयोगमा मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत रेडियो शैलुङको साझेदारीमा सञ्चालित मुडे–चरिकोट निर्माणमा ढिलासुस्ती विषयक साझा सभा कार्यक्रमका सहभागीले सडक निर्माण यो वर्षको वर्षा यामअघि सकिने सम्भावना नरहेकोले ठेक्का रद्द गरी नयाँ ढङ्गले काम शुरु गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी लामोसाँघु–मुडे–चरिकोट निर्माणमा भएको ढिलासुस्तीविरुद्ध नागरिक खबरदारी अभियानका सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी, दोलखा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार श्याम खतिवडा, होटल संघ दोलखाका सदस्य पुष्कर बस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष मन्दिरा थापा, नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल, बाल अधिकारकर्मी राजन बस्नेतलगायतले काममा ढिलासुस्ती गरेको र सम्पन्न थोरै काम पनि गुणस्तरहीन भएको आरोप लगाउँदै तत्काल ठेक्का रद्द गर्नुपर्ने बताउनुभएको थियो ।

दोलखा जिल्ला निर्माण व्यवसायी संघका महासचिव राजेश थापाले विभिन्न ठाउँमा ठेकेदारले काममा लापरबाही गर्दा राम्रो काम गर्नेहरुसमेत बदनाम हुनुपरेको गुनासो गर्नुहुँदै मुडे–चरिकोट सडकमा केही प्रगति देखिएकोले काम हुने कुरामा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा सहभागी लामोसाँघु–तामाकोसी–जिरी सडक आयोजनाका प्रमुख दिप वाराहीले ठेक्का तोड्दा कानुनी समस्याका कारण तत्काल अर्को ठेक्का लगाएर काम गर्न समस्या हुने भएकोले सकेसम्म अहिलेकै ठेकेदारबाट काम गराउने र त्यो सम्भव हुँदै भएन भने ठेक्का तोडेरै भए पनि नयाँ ठेकेदारमार्फत काम गराउने बताउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले सडक निर्माणको काम समयमै सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालयले कानुनी दायराभित्र रहेर अधिक प्रयत्न गरिरहेको उल्लेख गर्दै आयोजनाले ठेकेदारले काम नगरेकोले पत्राचार गरी आवश्यक कारबाही गर्न भनी लिखितरुपमा दिए ठेकेदारलाई पक्राउ गरी कानुनीरुपमा आवश्यक कारबाही गर्न सकिने बताउनुभयो । कार्यक्रमको सभापतित्व हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले गर्नुभएको थियो भने सहजीकरण पत्रकार शरद सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्