कक्षामा तीन जना विद्यार्थी



नेपाल समाचारपत्र, बाँके ।

दुईवटा बेन्चमा तीन जना विद्यार्थी बसेका थिए । कोठामा अरु तीनवटा बेन्च खाली थियो । दश कक्षाको कोठामा भित्र छिर्दा यस्तो देखिन्थ्यो । नयाँ मान्छे आएको देखेपछि हत्तनपत्त मास्क लगाएर आफ्नो किताब अगाडि बसेका विद्यार्थीहरु अनुशासित देखिन्थे । ‘अरु विद्यार्थी खोइ त?’ तीनै जनाले एकैस्वरमा भने– ‘दश कक्षामा पढ्ने हामी तीन जना मात्रै हो ।’ उनीहरुले दश कक्षामा आठ जना विद्यार्थी भए पनि पाँच जना स्कुल नै नआउने बताए ।
छेउमा रहेको नौ कक्षामा भित्र पस्दा दश जना विद्यार्थी देखिए । १७ जना विद्यार्थी रहेको बताइएको नौ कक्षामा १० जना उपस्थित थिए ।

बाँकेको विकटमध्येमा पर्ने नरैनापुरको आदर्श माविको दृश्य थियो यो । गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही स्कुलको अनुगमनमा पुग्नुभएको थियो । स्कुलका प्रधानाध्यापक त्रिलोकीनाथ मौर्य भन्दै हुनुहुन्थ्यो, ‘बच्चाहरु नियमित स्कुल नै आउँदैनन् । के गर्नु ?’प्रधानाध्यापक मौर्यको गुनासा र समस्या यत्तिमै सीमित भएन । उहाँले भन्नुभयो– ‘केही बच्चा वार्षिक परीक्षामा मात्रै सामेल हुन्छन् । त्यस्तालाई पास गर्ने कि नगर्ने?’ मौर्यका अनुसार, मदरसा र सरकारी स्कुल दुवैतिर भर्ना गरिएका छन् । घरबाट स्कुल जान्छु भनेर आउने बालबालिका बाटोमा खेलेर फर्किन्छन् । अभिभावकलाई वास्ता छैन । अलि ठूला कक्षाका विद्यार्थीहरु स्कुल नआएर अभिभावकै सल्लाहमा काम गर्न जान्छन् ।

अझ गम्भीर विषय त त्यहाँ एकजना पनि माविका शिक्षक छैनन् । मावि शिक्षक नै नभई मावि कक्षा चलिरहेको छ । तल्लो तहका शिक्षकले माथिल्लो कक्षा पढाइरहेका छन् । ‘मावि स्वीकृति कसरी लिनुभयो?’ –प्रमुख प्रशासकीय अधिकृत शाहीले सोध्नुभयो । प्रधानाध्यापक मौर्यले थप्नुभयो– ‘निजी स्रोतबाट शिक्षक राख्ने भनेर मावि स्वीकृति लिइयो । कोही पनि राख्न सकिएको छैन । शुरुमा पीसीएफ कोटाबाट शिक्षक राखिएको थियो ।’स्कुलमा शुक्रबार विद्यार्थी १२ बजे नै निस्किने गर्दछन् । एक बजेको नमाज पढ्न विद्यार्थीहरु १२ बजे नै स्कुलबाट भाग्ने गरेको प्रधानाध्यापक मौर्यले जानकारी दिनुभयो । स्कुलमा ४ सय ५६ जना विद्यार्थी छन् ।

दैनिक उपस्थिति मुस्किलले दुई सय जना हुने गर्दछ । प्रधानाध्यापक मौर्यले कक्षा कोठाको अभावमा एक र दुई कक्षा तथा ४ र ५ कक्षा एउटै कोठामा पढाउनुपरिरहेको बताउनुभयो । बाँकेको नरैनापुरलाई विकट क्षेत्र मान्ने गरिन्छ । बाटो, बिजुली, अस्पताल र बैंक पुगेपछि सुगम हुँदै गएको नरैनापुरमा शिक्षाको अवस्था अझै सुधार हुन सकेको छैन । रजिस्टरमा रहेको र कक्षा कोठामा उपस्थित विद्यार्थीको संख्यामा धेरै फरक रहेको छ । गाउँपालिका अध्यक्ष शाहले शिक्षामा सुधारका लागि प्रयास गरिरहेको बताउनुभयो । ‘मैले शुरुआतदेखि नै शिक्षामा सुधारको प्रयास गरिरहेको छु । बजेट पनि छुट्याउने गरेको छु, अझै सुधार भइसकेको छैन।’ –गाउँपालिका अध्यक्ष शाहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्