हुम्लामा कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो



सिमकोट ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको ताँजाकोट गाउँपालिका–२ निवासी मैलागाउँका राजपुरा सुनारले गुनासो गर्नुभयो ।

गत कात्तिकमा सुत्केरी भएको तर हालसम्म सुत्केरी र गर्भवती जाँच गरेवापत पाउने भत्ता नपाएको सुनारले गुनासो गर्नुभयो । भत्ताकै लागि तीनपटक स्वास्थ्यचौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकाले दिन नसकिएको जवाफ पाएको उहाँले बताउनुभयो । सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनुपर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताउनुभयो । आफू असारमा सुत्केरी भएको तर भत्ता नपाएको गुनासो गर्नुभयो ।

सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको यहाँका महिलाले गुनासो गरेका छन् । राज्यबाट गर्भवतीलाई प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरे पनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाहीले गर्दा हालसम्म भत्ता नपाएका हुन् । प्रसूतिगृहमा सुत्केरी हुने महिलाले रु तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरेवापत प्रतिपटक रु २०० का दर रु ८०० गरी एक महिलाले रु तीन हजार ८०० पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्