राजनीतिसँग सबै सती जाने हो ?



  • कृष्णहरि बास्कोटा

हाल मुलुकको राजनीति निकै खलबलिएको छ । राजनीतिमा अनपेक्षित सुनामी आएको छ । हालको राजनीतिक उतारचढाव कुन विन्दुमा पुगेर अवसान हुन्छ भनी सहजै अनुमान गर्न सकिने अवस्था छैन । तर यसबीचमा आमनेपालीले हातखुट्टा छोडेझैँ चर्चा–परिचर्चा भैरहेको छ ।

हामी किन यत्ति विघ्न राजनीतिको भोका भयौं ? भनी भ्याउँदै उनले राजनीतिक तरलताबाट आफू आफैलाई प्रतिप्रश्न गर्न मन लागेको छ । राजनीति गर्नेले हदैसम्मको राजनीति गर्दा हामी आमनेपाली पनि उनीहरुसँगै सती जानुपर्ने हो कि ? भन्ने प्रश्न मेरो दिमागमा लगातार मडारिएकाले यो आलेख तयार गरेको हुँ ।

सिंहदरबारमा एक मेरा शुभचिन्तक खरिदार साहेब भेट भए । उनी अवकाशको मुखमा पुगेका रहेछन् । मैले सन्चो–बिसन्चो सोध्न न निकै व्यग्र भएको सन्देश दिए । कुरो बुझ्दाउनी कुनै राजनीतिक दल निकट पनि रहेनछन् । अवकाशपछि कुनै राजनीतिक नियुक्ति खोजेका पनि रहेनछन् । अवकाशपछि पेन्सन पट्टा नबन्ला भन्ने चिन्ता पनि रहेनछ । एक छोरा इन्जिनियर र एक छोरीलाई डाक्टर पढाएका रहेछन् ।

काठमाडौंमा ४ आनामा २ तल्ले घर पनि बनाएका रहेछन् । शील स्वभावकी श्रीमती पाएकोमा गर्वको अनुभूति पनि गरिरहेका छन् । यसरी कथाकार गुरुप्रसाद मैनालीको शब्दमा उनको घरमा चञ्चलाश्री रहेछ । तर पनि उनी वर्तमान राजनीतिक उतारचढावले ठूलो तनावमा परेका रहेछन् । मैले यसको कुनै भेउ पाउन सकिन ।

हालको राजनीतिक उतारचढाव कुन विन्दुमा पुगेर अवसान हुन्छ भनी सहजै अनुमान गर्न सकिने अवस्था छैन । तर यसबीचमा आमनेपालीले हातखुट्टा छोडेझैँ चर्चा–परिचर्चा भैरहेको छ । हामी किन यत्ति विघ्न राजनीतिको भोका भयौं ? भनी आफैलाई प्रतिप्रश्न गर्न मन लागेको छ । राजनीति गर्नेले हदैसम्मको राजनीति गर्दा हामी आमनेपाली पनि उनीहरुसँगै सती जानुपर्ने हो कि ?

बिहान मर्निङ वाकमा निस्किएको थिएँ । एउटा झुन्डसँग भेट भयो । नमस्कारको आदानप्रदानपछि राजनीतिक बहस भयो । निर्वाचनमा धाँधली हुनेदेखि हताहत हुनेसम्मका अनुमान भए । भारत र चीनका विषयमा गहन चिन्तन गरिए । शीर्ष नेताहरुको सात पुस्ताको जानकारी पस्किइयो । राजनीतिक विश्लेषण यसरी गरियो कि ती मैले भेटेकाहरु मेरा साथी मात्रै नभएर प्लेटो, अरिस्टोटलका पुनर्जन्मका मानिसजस्ता थिए । तिनमा अब्राहम लिंकन, महात्मा गान्धी, नेल्सन मण्डेलाको गुण भएको पाएँ । सम्भवतः उनीहरु बीबीसी, सीएनएन र अलजजिराजस्ता विख्यात सञ्चारगृहबाट अवकाश पाएका उत्कृष्ट श्रेणीका पत्रकारसरह थिए । म ताजुव मान्दै घर फर्किएँ ।

अस्तिको कुरा हो, बिहान दुई पोका दूध किन्न नजिकैको पसलमा पुगेँ । पसलेले न त दूध दिए, न मेरो हातको नोट नै समाते । उनी अलापविलाप गाउन थाले, ‘अब महँगी बढने भयो, पसल बन्द गरे भयो । व्यापार नहुने भएपछि कसरी कर तिर्ने ? होलसेलवालाकहाँ अब सामान पाइन्न । मैले कहाँबाट सामान ल्याएर बेच्नु ?’

मलाई इंगित गर्दै उनले भने, ‘तपाईं त जान्नेसुन्ने मानिस हो, लौं भन्नुहोस् त, यस्तो भद्रगोल गर्न पाइन्छ ?’ मैले के सम्झाउने कोशिश गर्न थालेको थिएँ, पाखुरा सुर्किउँलाजस्तो गर्न थाले । मानौं, संसद् भंग गर्ने प्रधानमन्त्री मै हुँ । म नै प्रचण्ड–नेपाल समूहको पक्षधर हुँ । म नै शेरबहादुर र रामचन्द्र भएजस्तो गर्न थाले । दूध किन्न आएका अन्य मानिसको भीड लाग्यो । पसले एकोहोरो जङ्गिन थाले । भेला भएका मानिसको नजरमा उनी जनता र म बदमास शासक वा प्रशासकजस्तो देखिन थाल्यो ।

यस्तै अवस्था बढ्दै गए अनाहकमा मैले बेइजती सहनुपर्लाजस्तो स्थिति पैदा भयो । मैले विनम्रतापूर्वक भनेँ, ‘आज एउटा कार्यक्रममा जानु छ, क्रिपया दूध दिनुहोस् । पसलमा भीड पनि बढिसक्यो ।’ यति भनेर दूध लिई म त्यहाँबाट उम्किएँ । ती पसले एक्लै फतफताउँदै थिए ।

यी माथि उल्लेख गरिएका तीनवटा घटना प्रतिनिधि घटना मात्रै हुन् । मैले कसैसँग पनि राजनीतिक बहस गर्न चाहेको थिइन र आफूबाट कुनै कुरा प्रकट गरेको पनि होइन । तथापि, राजनीतिक विश्लेषण, कुण्ठा, रिस, भविष्यप्रतिको निरासा सुन्न बाध्य भएँ । यसबाट म एउटा निष्कर्षमा पुगेको छु, संभवतः स्कूल र कलेजमा अध्ययन गर्ने करिब ९० हजार विद्यार्थीले निर्वाचन नहुन्जेल वा अदालतबाट संसद् पुनस्र्थापित नहुन्जेल पढ्ने छैनन् ।

उनीहरुका विद्यार्थी संगठनहरु अखिल, नेविसंघ, क्रान्तिकारी, मधेस तराई विद्यार्थी संगठनलगायतको आह्वानमा राजनीतिक छिनोफानो गर्न लागिपर्नेछन् । भविष्यका कर्णधार भनेको भविष्यमा आफूले असल भूमिका निर्वाह गर्ने र आफू केटाकेटी छँदै मुलुकको सुनौलो भविष्य निर्माण गर्ने वर्ग हो । सम्भवतः यसरी केटाकेटी अवस्थामै दलीय राजनीतिमा लाग्ने दूरदर्शीलाई नै देखेर कविले हुने बिरुवाको चिल्लो पात भनी पद्य लेख्नुभएको होला ।

यस्तो कल्पना दिमागमा आएपछि थप चञ्चल हुन पुगेँ । अब नेपालका उद्योगपति र व्यापारीले पनि काम नगर्ने होलान् । जसरी सरकारी कर्मचारीले ‘भोलि काम गरौँला, तपाईं दशैँपछि आउनुस्’ भनेर दुःख दिन्छन्, सोही रीतले उद्योगी र व्यापारीले पनि निर्वाचनपछि वा संसद् पुनस्र्थापन भएपछि मात्रै उद्योग सञ्चालन गरौंला वा पसलको सटर खोलांैला भन्ने भए । राजनीतिमा सत्यानाश प्रवेश गरेपछि निजी क्षेत्र पनि पूर्णतः निरुत्साहित भयो भन्ने अभिव्यक्ति आउने होला ।

एउटा कुरामा म ताजुब मान्छु, के नेपालका उद्योगधन्दा नेकपा वा नेका वा जसपाको अनुमतिमा खुलेका हुन् ? राजनीति मुलुक सञ्चालनको शीर्ष स्थानमा रहन्छ, यो सबैले बुझेकै कुरा हो । तर नबुझिएको कुरा के हो भने, दाल, चामल, पीठो, पाउरोटी उत्पादन गर्नेले राजनीति अधोगतिमा लाग्दा चिन्ता मान्नु स्वाभाविक नै हो । तर, अब कसले दाल–भात खाला ? अब कसले पाउरोटी खान्छ र ? म त सिद्धिएँ भनेर डाँको छोड्दा हाँसो उठ्नु स्वाभाविक नै हो ।

राजनीतिमा जथाभावी भाँडभैलो भएपछि कलाकारहरुले नेता र जनतालाई सजग गराउने गरी सृजना गर्ने हो । लौ न यस्तो राजनीतिक गन्जागोलमा मेरो त गला नै बस्यो, कसरी गीत गाऊँ भन्नुपर्ला र ? खानेपानीमन्त्रीले राजीनामा दिनुभयो, एउटा पक्ष हो । अब के खानेपानी मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका प्रमुखले लौ बित्यो, हामी पनि रिडीमा निर्वासनमा जान्छौं भन्ने हो र ? राजनीतिक फोहोरी खेलको जत्ति नै आलोचना गरे पनि कमै हुन्छ ।

तर यसो भनेर समाजका सबै, वर्ग, पक्षले मुलुक डुब्यो, म पनि डुबेँ भनेर कोलाहल मच्चाउने कि केही बदमासहरुले मुलुुक भाँड्न खोजे पनि मैले मेरो जिम्मेवारीको कामलाई निरन्तरता दिएर मुलुकलाई जीवन्त राख्छु भनी अठोट गर्ने हो ? मेरो विचारमा आ–आप्mनो जिम्मेवारीमा सबै निरन्तर खटिइनुपर्छ ।

राजनीतिले मुलुकलाई बर्बादीतर्फ धकेल्न खोजेकोमा म पनि चिन्तित छु । तर, मैले मेरो नित्यकर्म छोडेको छैन । अवकाशित जीवनमा लेखपढमा व्यस्त छु । आपूmले सघाउन सक्ने स्थानमा खटिएको छु । बिहानै उठ्ने गरेको छु, उचित समयमा सुत्ने गरेको छु । राजनीतिक भद्रगोल भएर मैले त बिहान–बेलुकी खान छोडेको छैन । अर्थात्, यस अवस्थामा पनि चिकित्सकले बिरामीको सेवा गरिरहने हो । इन्जिनियरले निरन्तर निर्माणको काममा आफूलाई समर्पित गर्ने हो । मालपोत कार्यालयले आमनागरिकको जग्गा किनबेचको लिखत पारित गरिदिने हो ।

नापी कार्यालयले सेवाग्राही जनताको आवश्यकताअनुसार कित्ताकाट गरिदिने हो । कानुनबमोजिम उमेर पुगेको नागरिकलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाइदिने हो । यो समयमा पनि डकर्मीले गाह्रो लगाउने र सिकर्मीले काठ चिर्ने काम छोड्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्न चाहन्छु । अन्त्यमा, मेरो चित्त दुखाइको स्पष्टीकरण दिएर यो आलेखको बिट मार्न चाहन्छु । कुनै एक अमूक प्रमुख जिल्ला अधिकारीलाई ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको नाम सोधेमा अपवादबाहेक १०–१५ जनाभन्दा बढीको नाम बताउन सक्तैनन् । तर, तिनैलाई नेकपा, नेका र जसपालगायतका दलका नेताहरुको नाम सोधिएमा हुबहु बताउन सक्छन् ।

सिमेन्ट उद्योगीलाई ७७ जिल्लामध्ये कुन जिल्लामा के–कस्तो प्रकारको ढुंगा चाहिन्छ भन्ने ज्ञान नहुने तर कुन जिल्लामा कुन दलको र कुन नेताको पकड छ भन्ने जानकारी हुने गरेको छ । यसै गरी, नेपालका अधिकांश कर्मचारीले कुन देशमा कसरी सेवाप्रवाह गरिन्छ भन्ने असल अभ्यासको जानकारी नराख्ने गरेका छन् । तर, अधिकांश कर्मचारीले इजरायल, इटाली, जापान, बेलायतलगायत कुन–कुन देशमा नेपालको जस्तै तरल राजनीति छ, त्यहाँ कसरी संसद् भंग गरिन्छ, कसरी सरकार गठन हुन्छ लगायतका सबै जानकारी राख्ने गरेका छन् । यही अवस्थाबाट सबै क्षेत्रहरु गुज्रिएका छन् ।

भारतको रिजर्भ बैंकका गभर्नरले जारी गरेको नीतिको हुबहु व्याख्या गर्ने नेपाली विद्वान्ले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तलदेखि माथिसम्म पढेर तुर्न नसक्ने स्थिति छ । यसरी, आममानिस नचाहिँदो ढंगले राजनीतिप्रति आकर्षित हुने र बाह्य जगत्को अनावश्यक जानकारी राख्ने प्रयत्नको सिकार भएको पाइन्छ ।

यसको सट्टा सबैले सर्वप्रथम आ–आफ्नो पेसा व्यवसायमा उत्कृष्ट ठहरिने कोशिश गरौं । आमनेपाली जनता आ–आफ्नो स्थानमा ठीक रहेमा केही सीमित राजनीतिज्ञले बिगार्न खोजे पनि आमजनताको सत्कार्यबाट ती नतमस्तक भई स्वतः सच्चिने थिए । हामीले उनीहरुको क्रियाकलापमा दिएको अत्यधिक चासो र उच्च महत्वले नै उनीहरु भुइँ न भाँडाको भएका त होइनन् ? सबैले गम्भीर भएर सोचौं ।

प्रतिक्रिया दिनुहोस्