धैर्यका प्रतीक मन्देकाजी



नेपाल समाचारपत्र, काठमाडौं

जिन्दगीले छिनछिनमा परीक्षा लिइरहेको हुन्छ । झन खेलाडी हुनु पर्छ, परीक्षा त प्रत्येक मोडमा हुन्छ । जसले यो परीक्षालाई पार गर्न सक्यो, ऊ नै अब्बल खेलाडी हुनेगर्छ । मन्देकाजी श्रेष्ठले पनि खेल जीवनमा धेरै परीक्षा दिए । त्यो पनि कठिन । अझ त्यो पनि एकपछि अर्को । उनी धैर्यवान र मिहिनेत हुँदैन थिए त, कता हो कता हुलमा हराइसक्थे । तर उनलाई यो नियती स्विकार्य थिएन्, त्यसैले अहिले हामीसँग छन्, नयाँ मन्देकाजी ।

सबैभन्दा पुराना मन्देकाजीको कुरा । यी साह्रै अभाग्यशाली खेलाडी भन्दा हुन्छ । उनी कुनै सम्भावित उपलब्धीको नजिक त पुग्थे, तर भाग्यले उनलाई यसरी ठग्थ्यो कि त्यो उपलब्धी कोसौं टाढा हुन्थ्यो । सन् २००६ को दक्षिण एसियाली खेलकुद (साग) हुँदा ताकै उनी नेपाली राष्ट्रिय कराते टिमका सदस्य थिए, तर उनी अन्तिम छनोटतिर फ्यालिए ।

सन् २०१० को ढाका सागमा हुने भयो । उनी प्रतियोगिता खेल्ने टिममा थिए, तर आयोजक बंगलादेशले १० नेपाली खेलाडीलाई मात्र अवसर दिने भयो । मन्देकाजी ११ औं खेलाडी जस्तै रहे, फेरि घर फर्कन बाध्य रहे । कसले भन्छ, केटा मान्छे रुंदैन भनेर, मन्देकाजी बाटो भरी रोएर घर फर्के । सन् २०१६ को सागका बेला त हदले पराकाष्ट नै नाघ्यो । यस प्रतियोगितामा कराते नै राखिएन् । डर थियो, कतै मन्देकाजीको साग खेल्ने सपना तुहिने त होइन ?

धन्न केही अन्यौलताबीच वर्ष २०७६ मा काठमाडौंमै १३ औं साग भयो । यसपल्ट भने मन्देकाजीले आफूलाई प्रमाणित गर्ने अवसर पाए, त्यो पनि राम्रैसँग । व्यक्तिगत काता र टिम कातामा गरेर दुई स्वर्ण जिते । त्यस अगाडिसम्म उनी एक प्रकारले नेपाली करातेमा गुमनाम खेलाडी हुने बाटोमा थिए, तर त्यो दुई स्वर्णले उनी नेपाली कराते कै सबैभन्दा सफल खेलाडीमध्ये एक भएका छन् ।

आखिरमा एकै संस्करणको सागमा यसअघि कोही नेपाली कराते खेलाडीले दुई स्वर्ण त जितेको थिएन् नै । यी दुई स्वर्णको उपलब्धीपछि उनी आफै भन्छन्, ‘म त अब नयाँ मन्देकाजी पो हुं ।’ उनले निकै धैर्य गरेर त्यो अवसरका लागि प्रतीक्षा गरिरहे । मिहिनेत गर्न छाडेनन् । छाड्थे त अहिलेको अवस्थामा हुने थिएनन्, त्यसैले नेपाली खेलकुदमा कुनै प्रकारको राम्रो उदाहरण दिनु पर्योल भने थिमीका यी रैथाने मन्देकाजीको नाम पक्कै आउने छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोर्टस अवार्ड २०७६ को लोकप्रिय खेलाडी विधामा मन्देकाजीको नाम त्यसैले छुटेन्, उनी यसका पूर्ण हकदार रहे । वर्ष ०७६ मा उनी एक प्रकारले लयमा पनि रहे, सागको सफलता उनीतर्फ त्यसै ठोकिन आएको पनि थिएन् । उनले बंगलोदशमा भएको साफ कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए ।

यस्तै थाइल्यान्ड ओपनमा रजतसँगै उत्कृष्ट खेलाडीको चयन । मन्देकाजी यहाँसम्म पुग्न सक्नु पछाडि उनी आवद्ध नेपाल प्रहरीको लगातार सहयोग पनि महत्त्वपूर्ण छ । नेपाल प्रहरीको त्यो साथ नहुँदो हो त मन्देकाजीको दृढता कमजोर हुन सक्थ्यो । त्यसैले उनी नेपाल प्रहरीप्रति खुबै कृतज्ञ पनि छन् । उनको यो सबै पृष्ठभूमिबीच कसैलाई पनि मन्देकाजीप्रति सम्मान जाग्छ भने उनका लागि मतदान त गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्