‘प्रधानमन्त्री कप’मा लुम्बिनीको विजयी शुरुआत



दाङ, (नेस)

दाङको लमहीमा जारी ‘महिला प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा लुम्बिनी प्रदेशले विजयी शुरुआत गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो । खेलमा ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।

टिमको जितमा गीता गोसाईंले सर्वाधिक २३ रनको योगदान गरिन् । नटआउट रहेकी उनले ४२ बलको सामना गर्दै २ चौका प्रहार गरेकी थिइन् । यस्तै, सरस्वती घर्तीमगरले २२ रन बनाइन् भने टिमकी कप्तान नेरी थापाले नटआउट रहँदै १५ रनको योगदान गरिन् ।

यसअघि, देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो । टिमका लागि ओपनर ब्याटसवोमेन अनुराधा चौधरी र सना प्रविनले समान २१÷२१ रन बनाएका थिए । त्यस्तै, विमला मगरले १० रन बनाउनुबाहेक अन्य ब्याटसवोमेनले दोहोरो अंकसमेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।

बलिङतर्फ लुम्बिनी प्रदेशका सुष्मिता भुसालले सर्वाधिक ४ विकेट हात पारिन् । यस्तै, कप्तान नेरी थापा, स्वस्तिका बजगाईं र गीता गोसाईंले १/१ विकेट लिएका थिए । सुस्मिता ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् ।

एपीएफको सहज जित

गत संस्करणको विजेता विभागीय टोली एपीएफ उक्त प्रतियोगितामा जितबाट उपाधि रक्षा गर्नेतिर अग्रसर भएको छ । समँह ‘ए’ मा रहेको एपीएफले शनिबारको दोस्रो खेलमा कर्णाली प्रदेशलाई २ सय ४ को फराकिलो रन अन्तरले पराजित गरेको हो । खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य पाएको कर्णाली १४.१ ओभरमा सबै विकेट गुमाएर ३१ रनमा सीमित हुन पुग्यो । एपीएफका बलरसामु कर्णालीका खेलाडीहरूले रन बटुल्नै सकेनन् ।

कर्णाली टिमका लागि कोही पनि खेलाडीले दोहोरो अंक जोड्न सकेका थिएनन् । टिमका लागि सर्वाधिक योगदान नै कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन थियो । बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पारिन् । अन्यमा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १÷१ विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता राना मगरले कप्तानी पारी खेलिन् । उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन् ।

यस्तै, सीतालाई राम्रो साथ दिएकी सरीता मगरले पनि ४४ रन बनाएकी थिइन् । ओपनर ब्याटसवोमेन ज्योति पाण्डेले ३२ र इन्दु बर्माले २२ रन जोडेका थिए । बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अञ्जु गुरुङ समान १÷१ विकेट लिएका थिए । प्रतियोगितामा आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशको सामना गर्दा दोस्रोले खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्