२ सय ५३ सडक आश्रितको उद्धार



नेपाल समाचारपत्र, विराटनगर

प्रदेश–१ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडक आश्रितको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियानअन्तर्गत झापाबाट ७६, सुनसरीबाट १ सय ११ र मोरङबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।

उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् । उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाइएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोत व्यक्ति सुमन अधिकारीले बताउनुभयो । उद्धार गरिएकाहरुमा ५ देखि ८० वर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश–१ संयोजक नवराज केसी जनाउनुभयो ।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडक आश्रित मानव अब सडकमा नदेखिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । प्रदेश सरकारले आगामी वैशाखभित्रमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिसक्ने मन्त्री घिमिरे बताउनुहुन्छ । प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य गर्दै आएको उहाँको भनाइ छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहको व्यवस्थापनमा सहज भएको बताउनुभयो । मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको कथन छ ।

उहाँले आगामी २०८२ भित्रमा नेपाललाई शारीरिक तथा मानसिकरूपमा अस्वस्थ भई खुला आकाशमुनि रात विताउन विवश घरबारविहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवरहित राष्ट्र नेपाल निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्