संरक्षणमा गुमनाम ‘डुम्रेकोटगढी र कोटगढी’



नेपाल समाचारपत्र, खोटाङ

संरक्षण र प्रचार–प्रसारको अभावमा गुमनाम बनेको खोटाङस्थित ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने दुवै गढी संरक्षणमा सोही गाउँपालिकाले चासो देखाएको हो ।

करिब तीन सय वर्षअघि बाइसे–चौबीसे राज्यको पालामा किरातवंशीय शासकहरुले राज्य सञ्चालन गर्ने थलोका रूपमा उक्त गढी चिनिन्छन् । ऐतिहासिक गढी संरक्षणका लागि गत वर्षदेखि बजेट व्यवस्था गरेर अघि बढेको रावाबेंसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताउनुभयो । पर्यटन प्रवद्र्धनका साथै भावी पुस्तालाई उक्त इतिहास जानकारी गराउन गढी संरक्षण आवश्यक रहेकाले सो कार्यतिर लागेको अध्यक्ष निरौलाको भनाइ छ ।

त्यस बेला डुम्रेकोटगढीमा राज्य सञ्चालन र कोटगढीमा हतियार भण्डारण गरिन्थ्यो । डुम्रे धारापानीमा पिउने पानीको अभाव भएकाले दूधकोशीबाट बोकेर ल्याइएको पानी भण्डारण गर्न त्यही समयमा निर्मित इँटा प्रयोग गरी निर्माण गरिएको इनार अझै पनि देख्न सकिन्छ । यता, कोटगढीको मुख्य भागमा रहेको बङ्करलगायतको अवशेष स्पष्ट देख्न सकिने ४ नम्बर वडाध्यक्ष ज्ञानबहादुर पाण्डले सुनाउनुभयो ।

वरिपरि सबैतिर देख्न सकिने उक्त ठाउँलाई भ्युप्वाइन्टका रूपमा समेत विकास गर्न सकिने वडाध्यक्ष पाण्डे बताउनुहुन्छ । पाण्डेका अनुसार उक्त गढी संरक्षणका लागि करिब ९ लाख खर्च गरिएको छ । राणाकालीन शासनकालमा पूर्व ३ नम्बर क्षेत्रअन्तर्गत डुम्रेकोटगढीमा राईहरुले राज्य गरेको उक्त गढीसम्बन्धी अध्ययनकर्ता ऐंसेलुखर्क गाउँपालिका रिब्दुङका लवकुमार राईले जनाउनुभयो ।

उक्त क्षेत्र पञ्चायत कालमा सोलुखुम्बु जिल्लामा पर्दथ्यो । त्यस बेला तत्कालीन भूमि सुधार अधिकृत गोपाल कोइरालाको टोलीले त्यहाँ भएका तोपलगायतका अन्य हतियारहरु लिएर गएको राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्