भेरीमा ७० बेडको कोरोना वार्ड



बाँके, (नेस)

भेरी अस्पताल नेपालगन्जमा थप ७० बेडको कोरोना वार्ड तयार गरिएको छ । जिल्ला समन्वय समिति र स्थानीय तहको सहयोगमा १ करोडको लागतमा तयार पारिएको कोरोना वार्ड शुक्रबारदेखि सञ्चालनमा आएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जिल्ला समन्वय समितिले ७५ लाख र अरू पालिकाहरुको २५ लाख रुपियाँ सहयोगमा कोरोना वार्ड तयार पारिएको जानकारी दिनुभयो ।

भेरीमा यसअघि नै ७२ बेडको कोरोना तयार पारिएको थियो । भेरीमा अब १ सय ४२ बेडको कोरोना वार्ड तयार भएको छ ।
अस्पतालका मेसु डा. प्रकाश थापाले अहिले बनाइएको ७० बेडको वार्डमा ९० वटासम्म बेड राख्न सकिने बताउनुहुन्छ । भेरीमा थप कोरोना वार्ड तयार गरिएकाले अब बिरामीलाई बेड छैन भनेर फर्काउन पर्ने अवस्था नआउने अस्पताल विकास समितिका अध्यक्ष धितालको भनाइ छ ।

भेरी अस्पताल यस क्षेत्रको रिफरल अस्पतालका रूपमा रहेको छ । भेरीमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, रोल्पा, रुकुम, जाजरकोट, सल्यान जिल्लाका बिरामी आउने गर्दछन् । रिफरल सेन्टरका रूपमा रहेको भेरीमा एकैपटक धेरै बिरामी हुँदा बेडको अभावमा फर्काउनुपर्ने अवस्था रहेको थियो । अब त्यो समस्या हुने छैन ।

‘राम्रो संरचना बन्यो । कोरोनाको कहर हुने बेलासम्म कोरोनाका बिरामी रहन्छन्, कोरोना सकिएपछि अरूका लागि प्रयोग गर्न सकिन्छ ।’ –अस्पताल विकास समितिका अध्यक्ष धितालले भन्नुभयो । भेरी अस्पतालले कोरोनाको परीक्षण गर्दछ । जिल्लामा अरु दुई ठाउँमा कोरोना परीक्षण हुँदै आएको छ । भेरीमा अहिलेसम्म ५१ हजार ८ सय ६ जनाको परीक्षण गरिएको छ । त्यसमा ५ हजार २१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्