निर्माण भएको दुई दिन नबित्दै उप्कियो पिच



पुष्पा थापा, सर्लाही ।

बरहथवा नगरपालिका–२ हजरियामा ठेकेदारको लापरबाहीका कारण कालोपत्रे भएको सडक दुई दिन नबित्दै उप्किन थालेको छ । हजरियाको पाञ्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालयअगाडि सम्मको ९ सय मिटर सडक कालोपत्रे भएकै दिनदेखि उप्किन थालेको हो ।

निर्माणाधीन अवस्थामा नै कालोपत्रे गुणस्तरहीन भएकाले रोक्न खोज्दाखोज्दै ठेकेदारले जबरजस्ती कालोपत्रे गरेको वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले बताउनुभयो । सडक कालोपत्रेको ठेक्का सकार गरेको एमएसके कन्स्ट्रक्सनलाई गुणस्तरहीन काम गरेकाले सम्झौताअनुसारको काम नगरेसम्म भुक्तानी नदिने नगर प्रमुख देवानन्द महतोे बताउनुहुन्छ ।

एमएसके लाइट कन्स्ट्रक्सनले भ्याटसहित ६५ लाख रुपियाँमा सडक कालोपत्रेको ठेक्का सकार गरेको बरहथवा नगरपालिकाअन्तर्गत योजना शाखाका प्रमुख तथा सूचना अधिकारी कमलप्रसाद पौडेलले जानकारी दिनुभयो। जाडोको समयमा कालोपत्रे गर्न नहुने प्राविधिकहरुले सुझाव दिँदादिँदै ठेकेदारले अटेर गरेर कालोपत्रे गरेको पाइएको छ ।

सडक निर्माणका लागि भन्दै ठेकेदार सुरेश कार्कीले अहिलेसम्म नगरपालिकाबाट २८ लाख रुपियाँ भुक्तानी लिइसकेका छन् । सडक निर्माणको काम गुणस्तरहीन भएको स्थानीयबाट व्यापक गुनासो आएपछि बिहीबार प्राविधिक र जनप्रतिनिधिहरुले कालोपत्रे भएको सडकको अनुगमन गरेका थिए । अनुगमनको क्रममा निर्माणको काम सम्झौताअनुसार नभएकाले पुनः दोहो-याएर कालोपत्रे गर्न निर्देशन दिइएको सरोकारवबलाले बताएका छन् ।

सडक निर्माणकै क्रममा रहेकाले जथाभावी सवारीसाधन गुड्दा कालोपत्रे उप्किएको ठेकेदार सुरेश कार्कीको दाबी छ । तर, प्रविधिकहरुले भने सडक कालोपत्रे गर्दा आवश्यक तापक्रम नभएकै कारण समस्या आएको बताएका छन् । कालोपत्रे उप्किएको ठाउँमा ठेकेदार कार्कीले बालुवा हालेर अहिले सडक पुर्ने काम गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्