प्रचण्ड–गौतमबीच भेटवार्ता

संसद् विघटनको विपक्षमा छु : गौतम



काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भइरहेको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुल्नुभएको छैन । संसद् विघटनको विरोध जनाउनुभएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक र भेलामा सहभागी हुनुभएको छैन ।

दुवै समूहमा नखुल्नुभएका गौतमले शनिबार प्रचण्ड निवासमा भेटवार्ता गर्नुभएको छ । दुई नेताबीच करिब एक घण्टा वार्ता भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरे पनि गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद् विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतै पनि खुल्नुभएको छैन । दुवै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आए पनि गौतमले निर्णय लिइसक्नुभएको छैन । गौतम दुवै पक्षको केन्द्रीय समितिका नेताहरुको दुवै समूहको भेलामा सहभागी हुनुभएको छैन ।

भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने जवाफ दिनुभएको थियो । भेटमा गौतमले जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्नेमा जोड दिँदै एकता गरेरै जानुपर्ने आफ्नो अडान राख्नुभएको थियो । सचिवालयका सबै नेताको कित्ता प्रस्ट भइसके पनि वामदेव गौतम भने कतै देखिनुभएको छैन । तर संसद् विघटनको भने विरोध गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्