इथियोपियामा मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुग्यो



आदिस आबाबा, इथियोपिया ।

इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ ।
देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो ।

त्यही घटनामा परी मृत्यु हुनेहरुको सख्या बृद्धि हुदै गएर २०७ पुगेको अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका मध्ये १३३ बयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना बयस्क महिला रहेका छन् । त्यसैगरी २० जना २० जना बृद्धबृद्धा र १७ जना बालबालिका रहेका छन् । एक जना ८ महिने शिशु रहेको अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा बृद्धि हुदै गएको शुक्रबार जनाएको । मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ । यस्तो द्वन्द्वका बीचमा इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ ।

निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्