प्रदेश प्रहरी अस्पतालमा भिडियो एक्सरे मेसिन, उपचारमा सहज



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलो पटक भिडियो एक्सरे मेसिन प्राप्त भएपछि बिरामीको चेक जाँच तथा उपचारमा सहज भएको छ ।

स्थापना कालदेखि भिडियो एक्सरे नहुँदा उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य जाँचका लागि निकै सास्ति हुँदै आएको थियो । भिडियो एक्सरे गर्नकैलागि नेपाल प्रहरी तथा उनीहरुका परिवारका बिरामीहरु हजारौँ खर्चेर कैलाली तथा काठमाण्डौँ जान बाध्य थिए । जिल्लाको पूर्वीचौँकी गाउँपालिका–३ जोशी गाउँका स्थानीयबासी तथा समाजसेवी भक्तराज जोशीले आफ्नो व्यक्तिगत लगानीमा भिडियो एक्सरे मेसिन खरिद गरी निःशुल्क प्रदान गरेपछि अहिले प्रहरी अस्पताललाइ बिरामीको उपचार गर्न सहज भएको हो ।

उक्त अस्पताललाइ जोशीले रु छ लाख मुल्य पर्ने भिडियो एक्सरे मेसिन र प्रिन्टर निःशुल्क प्रदान गर्नु भएको हो । प्रहरी कर्मचारी उनीहरुका घरपरिवार तथा स्थानीयबासीलाई उपचारमा सहयोग पुगोस भन्ने हेतुले निःशुल्क प्रदान गरीएको भिडियो एक्सरे मेसिनले बिरामीको स्वास्थ्य जाँच गर्नमा निकै सहयोग पुगेको प्रदेश प्रहरी अस्पताल दिपायलका निमित्त प्रमुख डा. भिमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “भिडियो एक्सरे नहुँदा यहाँका प्रहरीदेखि अन्य नागरिकलाई उपचार गर्न मस्या भएको थियो, भक्तराज जीको सहयोगमा मेसिन पाउदा सहज भएको छ ।” प्रहरी अस्पतालमा भिडियो एक्सरे मेसिन नहुँदा बिगतमा भिडियो एक्सरे गनु पर्ने प्रहरीका बिरामी लाई नेपाल प्रहरीको केन्द्रिय अस्पताल महाराज गञ्जमा रेफर गर्नु पर्ने अवस्था भएको प्रदेश प्रहरी अस्पताल दिपायलका सूचना अधिकारी तथा प्राबिधिक प्रहरी नायब निरीक्षक खडकबहादुर भुत्यालले जानकारी दिनुभयो ।

अस्पतालमा भिडियो एक्सेर मेसिन जडान गरिएपछि अहिले प्रहरी तथा उनीहरुका परिवार र स्थानीय बिरामीहरु दैनिक भिडियो एक्सरे गर्न आउन थालेको अस्पतालका निमित्त प्रमुख डा. बुढाले बताउनुभयो । उहाँले थप भन्नुभयो, “ भिडियो एक्सरे मेसिन जडान भएपछि बिरामी सङ्ख्या पहिलेको भन्दा निकै बढेको छ, हामीलाई पनि स्वास्थ्य जाँचमा सहज भएको छ ।” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले समाजसेवी जोशीले गर्नु भएको भिडियो एक्सरे तथा प्रिण्टर सहयोगले यहाँका प्रहरी, उनीहरुका परिवार तथा स्थानीयबासीलाई उपचारका लागि निकै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी सहित अन्य नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि जोशी जीले भिडियो एक्सरे सहितका सामग्री प्रदान गर्नु भएको छ, जो आफैमा अति राम्रो काम हो, उपचारमा सबैलाई सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्