राज्यमन्त्री मानन्धरबाट एकल गायनमा विश्व रेकर्ड



काठमाडौँ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्नुभएको छ । वल्र्ड बुक अफ रेकर्ड युकेमा उहाँले सो रेकर्ड कायम गर्नुभएको हो । आज यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गर्नुभएका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गर्नुभएको हो । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाउनुभएको थियो ।

उहाँले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनुभएको थियो । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उहाँले ट्रयाकमा गाउनुभएको हो । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उहाँको रोजाइमा परेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिनुभयो । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गर्नुभयो । वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले आज गाउनुभएका सबै गीतको रोयल्टीसमेत तिरेर गाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्