निर्मातालाई प्रोत्साहित गर्नुपर्छ- मःमको मज्जामा प्रदीप



नायक प्रदीप खड्काले सिनेमा भवन सञ्चालनमा ल्याएसँगै निर्मातालाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा पनि सोच्नुपर्ने बताएका छन्। बिहीबार राजधानीको नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा ल्याइएको मःम मज्जा ः स्वाद घरको पहिलो आउटलेटको शुभारम्भका अवसरमा आज शुक्रबारदेखि पुनः सञ्चालनमा आउन लागेका सिनेमा भवनको सन्दर्भलाई जोड्दै उक्त भनाइ राखेका हुन्।
‘सिनेमा भवनमा जस्तै रेस्टुरेन्टमा पनि कडाइ गरिएको थियो। जब रेस्टुरेन्टहरु खुले, मानिस आउनथाले। तर, हल खोलेर मात्र हुँदैन निर्माताले पिल्म दिने वातावरण पनि बन्नुपर्छ। निर्मातालाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्छ’, प्रदीपको भनाइ थियो– ‘हामीले प्रेमगीत–३ चलाउने विषयमा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघसँग बैठक गरेका थियौं। निर्माताले जोखिम मात्र मोल्ने भन्ने हुँदैन। राम्रो चलचित्रलाई प्रोत्साहन गरेर चलाउने हो भने दर्शक हलसम्म आउँछन्। राम्रो फिल्म चलायो भने दर्शक यसै पनि आउनुहुन्छ। पुरानो फिल्म चलाउँदा यो जोखिमको समयमा दर्शकलाई आउनुहोस् भनेर आउनुहुन्छ जस्तो मलाई लाग्दैन। पुरानो फिल्म हेर्नका लागि रकम खर्च गरेर आउनुहोस् कसरी भन्ने?’
प्रदीपले रिबन काटेर मःम मज्जा ः स्वाद घरको शुभाम्भ गरेका हुन्। यो आउटलेट सानो मन र निर्माणाधीन फिल्मके घर के डेरा निर्माता शरद श्रेष्ठको टिमले सञ्चालनमा ल्याएको हो। प्रदीपले नेपालमा मःमलाई ब्रान्डका रूपमा स्थापित गर्न मःम मज्जाले मद्दत गर्ने बताए। ‘कफीको चेन भनेझैं मःमलाई पनि ब्रान्डका रूपमा स्थापित गर्न जरुरी छ। हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ।’ –प्रदीपको भनाइ थियो। प्रदीपले आफँ पनि मःमको पारखी रहेको खुलाए। ‘लकडाउनमा मःम खाँदा–खाँदा अहिले त्यो घटाउँदै छु। साँधेको मःम विशेष मन पर्छ। भोक लागेको बेला डेढ÷दुई प्लेट मःम त खान्छुु।’ –उनले भने। घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए।
सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर मःम मज्जाको शुरुआत गरेको बताए। ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले आउटलेट शुरु गरेको उनले बताए। एक वर्षभित्र देशका १० शहरमा मःम मज्जाको आउटलेट सञ्चालन गर्ने तयारी शरदको टिमको छ। स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने फिल्म के घर के डेराको छायांकन शुरु हुँदै छ। फिल्म सुव्रतराज आचार्यले निर्देशन गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्