जनअपेक्षानुरूप काम गर्न महानगरपालिकाका प्रमुखकाे निर्देशन



गण्डकी ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिनुभएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताउनुभयो ।

सुशासनको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गर्दै जिसीले वडाले भोग्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने उल्लेख गर्नुभयो । महालेखा परीक्षकको कार्यालय र नेपाल राष्ट्र बैंकले महानगरका वडामा खाता सञ्चालनको अनुमति दिइसकेकाले विगतजस्तो समस्या नहुने उहाँको भनाइ छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताउनुभयो ।

बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै उहाँले समस्याको पहिचान गरेर निकास दिने गरी काम गर्ने बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष्य जनताको सेवा नै भएकाले एक भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आजको आवश्यकता भएको औँल्याउनुभयो । बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र सचिवले चार महिनाको अवधिमा गरेका भौतिक पूर्वाधारका काम बाटोघाटो, बिजुली, खानेपानी, पुलपुलेसा विकास निर्माण आदिबारे अवगत गराएका थिए ।

कोरोना भाइरस सङ्क्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको र वडाको विकास बजेट अपुग भएको, खाता सञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ । विशेषतः गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरूले विकास बजेट थोरै हुनुलगायतका कारण जनअपेक्षानुसार काम हुन नसकेको समस्या सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्