हिल्साको कर्णाली नदीमा बरफ जमेपछि सुरक्षाकर्मीलाई सास्ती



सिमकोट ।

हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ ।

नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।

नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताउनुभयो । उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उहाँको भनाइ थियो । नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ ।

अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उहाँले भन्नुभयो, “तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।”

प्रतिक्रिया दिनुहोस्