विमललाई सम्मान तुम्खेवालाई पुरस्कार



नेपाल समाचारपत्र, लन्डन

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवाकवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा ५० हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा १ लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

जनकपुरधाममा जन्मिनुभएका डा. विमलले लामो समय प्राध्यापन पेसा अँगालेर नेपाली तथा मैथली भाषा साहित्य र संस्कृतिको क्षेत्रमा सेवा गर्दै आउनुभएको छ । उहाँका कृतिहरुमा समयका आँखा, राजेन्द्र विमलका कथाहरू, इतिहासक धाव र हमरे कथा थिक कथासंग्रह, फिस्टि रानी बालकथा, रोएको जुन र खहरेको तिर्खा रहेका छन् ।

यसका साथै उहाँका इतर ब्रह्माण्ड नाटक, सूर्यस्तंस पहिले गजल संग्रह, मिथिला गौरव र मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा, गद्य, पद्य र नाटक समालोचना, नेपाल परिचय नवनीत र नेपाली, अंग्रेजी, मैथली शब्दकोशलगायत दुई दर्जन बढी कृति प्रकाशित भइसकेका छन् । उहाँलाई साहित्य तथा कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ‘प्रतिभा सम्मान २०२०’ प्रदान गरिने भएको हो ।

यसै गरी तेह्रथुमको ओख्रेमा जन्मिनुभएका कवि विमला तुम्खेवाले बालापनदेखि नै निरन्तररुपमा कविता लेख्दै आउनुभएको छ । उहाँका विमला तुम्खेवाका कविताहरू, नदी छाल र तरङ्गहरू, संस्मरण एउटा बूढो रुखको र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेलगायतका कविता कृतिहरू प्रकाशित छन् ।

उहाँको कविताहरू हिन्दी, अंग्रेजी, कोरियन र लिम्बू भाषामा अनुवाद भएको पाइन्छ । तुम्खेवा कविता लेखनको साथै पत्रकारिता तथा आख्यान लेखनमा समेत सक्रिय हुनुहुन्छ । कविता साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत कवि तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्न लागेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यसअघि दिँदै आएको ‘प्रतिभा सम्मान’को राशि २० हजारलाई यस वर्षबाट बढाएर ५० हजार पु¥याएको छ ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम, भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली सम्मानित भइसकेका छन् ।

यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी र शुभ मुकारूङ पुरस्कृत भइसकेका छन् ।

यसैबीच प्रतिष्ठानले वरिष्ठ साहित्यकार गणेश राईको अध्यक्षतामा चौथो कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा टंक वनेम, महासचिवमा देवेन्द्र खेरेस, सचिवमा नरेश नाति, सहसचिवमा अञ्जु अञ्जली, कोषाध्यक्षमा चोक गुरुङ र सहकोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ ।

अहिलेको विषम परिस्थितिमा सभासमारोहको आयोजना गर्न कठिनाइ भए पनि स्थिति सामान्य हुँदै गएपछि काठमाडौंमा एक समारोहको आयोजना गरी ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका नवनिर्वाचित महासचिव देवेन्द्र खेरेसले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्