विद्यालयको त्रुटिले कक्षा १२ को परीक्षाफलमा ढिलाइ

बल्ल इन्ट्री हुँदै



नेपाल समाचारपत्र, काठमाडौं

विद्यालयको त्रुटिका कारण कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गल्ती नगरेको भए पुसको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

विद्यालयले हातले लेखेर मनपरीरुपमा सिम्बोल नम्बर इन्ट्री गरी पठाएको कारण समस्या परेको हो । तोकिएको निर्देशनअनुसार सिलसिलेवाररुपमा सिम्बोल नम्बर लेख्नुपर्नेमा मनोमानीरुपमा लेखेका कारण समस्या परेको बोर्डको भनाइ छ ।

‘सिम्बोल नम्बर पठाउँदा मनपरी भएको कारण पुसमा परीक्षाफल प्रकाशित गर्न समस्या पर्ने देखिएको छ । तैपनि पुसको अन्तिम सातामा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौं।’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नुभयो । उहाँले उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि भएका कारण थप समस्या सिर्जना भएको बताउनुभयो ।

बोर्डले केही विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्दा गलत भेटिएपछि सबै उत्तरपुस्तिका परीक्षण गर्न सम्बन्धित विषय शिक्षकलाई नै बोलाएर परीक्षण गर्न लगाएको थियो । एउटा विद्यार्थीको परीक्षण गलत भेटेपछि सबै विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्न लगाएको बोर्डको भनाइ छ ।

‘सबै विषयमा प्रशिक्षण दिँदा, पटकपटक सिकाउँदा पनि विद्यालयबाटै दोहो¥याएर गल्ती गरेका कारण परीक्षाफल प्रकाशित गर्न ढिला हुने भएको छ।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो । यतिसम्म कि केही विद्यालयले २० प्रतिशत अंकको आन्तरिक मूल्याङ्कन गर्नुपर्नेमा २० अंकको गर्दा थप समस्या देखिएको छ । बोर्डले यस्तै अवस्थाको कारण परीक्षाफल प्रकाशितमा ढिलाइ हुने जनाएको छ ।

परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ । तर कतिपय विद्यालयले ढिलो गरी उत्तरपुस्तिका पठाएका थिए । केही विद्यालयले त नम्बर पठाउँदा, प्रयोगात्मक परीक्षाको अंकसमेत त्रुटि गरी पठाएको बोर्डको भनाइ थियो ।

बोर्डले स्नातक तहको कक्षा सञ्चालन गर्न मिल्ने गरी पुस १५ भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।
‘समस्या भएपछि अन्य उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणलगायतका काम सकिएर इन्ट्री गर्ने प्रक्रिया

शुरु गर्दा समस्या आएको हो।’ –बोर्डका अध्यक्ष प्राडा पौडेलको भनाइ थियो । इन्ट्री गर्न करिब दुई साता लाग्ने अवस्था देखिएको छ ।

बोर्डले इन्ट्री गरेको करिब एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । कोभिड–१९ कारण वैशाखमा रोकिएको परीक्षा मंसिर ८ गतेबाट शुरु भएको थियो । ४ लाख ३३ हजार विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको भएको थियो । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको थियो ।

बोर्डले ४० प्रतिशतका लागि मात्रै परीक्षा गरेको थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत तोकेको थियो । कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्