संसद् विघटन प्रकरण: नेकपामा दुवै समूह आक्रामक

मदन भण्डारीलाई सम्झिँदै प्रचण्ड–नेपाल बल्खुमा



मधुसूदन रायमाझी, काठमाडौं

प्रतिनिधिसभा संसद् विघटन भएसँगै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टीभित्र दुवै समूहले आक्रामकरुपमा भेला र प्रशिक्षण अगाडि बढेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले भेलाको कार्यक्रमलाई तीव्रता दिएको हो ।

पार्टीको वैधताको विषय निर्वाचन आयोगमा पुगेसँगै दुवै समूहले भेला र प्रशिक्षण कार्यक्रम तय गरेर सात प्रदेशमा दौडिएका छन् । ओली समूहले सातै प्रदेशमा भेला कार्यक्रम सञ्चालन गरिसकेको छ भने प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै भेला र प्रशिक्षण एकसाथ अगाडि बढाउने निर्णय लिएको छ ।

पार्टीको वैधानिकताको विषय निर्वाचनमा आयोगमा पुगेपछि बुधबार दुवै समूहको केन्द्रीय कमिटीको बैठक बसेको हो । ओली समूहको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्ड–नेपाल समूहको भेला वबरमहलस्थित कार्की बैंक्वटमा सम्पन्न भएको छ । दुवै समूहले एक पक्षले अर्को पक्षमाथि आरोप प्रत्यारोपको शृंखला पनि एकसाथ अगाडि बढेको छ ।

संसद् विघटनको विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुनेछ । ओली समूहले सरकारले गरेको निर्णय सर्वोच्च अदालतले सदर गर्ने बताएको छ भने प्रचण्ड–नेपाल पक्षले असंवैधानिकरुपमा गरिएको संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गर्ने दाबी गर्दै आएको छ । निर्वाचन आयोगमा वैधानिकताको मुद्दा र सर्वोच्च अदालतमा परेको रिटको फैसलाको प्रतीक्षामा दुवै समूह बसेका छन् ।

केही गर्न नदिएपछि संसद् भंग ः ओली

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई काम नै गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको बताउनुभएको छ । उहाँले जनमतअनुसार काम गर्न खोजे पनि हरेक पाइलापाइलामा पार्टीभित्रबाटै अवरोध भएपछि नयाँ जनमत लिन संसद् भंग गरेको बताउनुभएको हो ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाललाई झुक्याएको उहाँको भनाइ थियो ।

नेपालले आफूसँग उधारो नहुने हाताहाती चाहिन्छ भन्दै महाधिवेशनसम्म कुर्न नसके पनि प्रचण्डले हाताहाती अध्यक्ष दिएको भन्दै व्यंग्य गर्नुभएको थियो । अध्यक्ष ओलीले जनयुद्ध र जनआन्दोलनमा नलागेका नारायणकाजी श्रेष्ठसँग आन्दोलनकै अनुभव नभएको बताउनुभयो ।

गुमेको भूमि फिर्ता गराउन खोजेबापत पार्टीभित्र र बाहिर षड्यन्त्र भइरहेको बताउँदै ओलीले भन्नुभयो– ‘हिजो संविधान बनाएबापत, व्यापार सम्झौता गरेबापत, भूपरिवेष्ठितलाई भूजडित बनाएबापत षड्यन्त्र भयो, अहिले गुमेको भूमि फिर्ता ल्याएबापत पार्टीभित्रै बसेर पनि षड्यन्त्र गर्न खोजियो ।’ उहाँले ओलीले केन्द्रीय कमिटी बैठक नबस्दासम्म पार्टीको निर्णय स्थायी कमिटीबाट गर्ने प्रस्ताव बैठकले पारित गरेको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्म र भावनाविरुद्ध संसद् विघटन गरेर बसाल्न खोजिएको गलत नजिरलाई स्थापित हुनबाट रोक्नुपर्ने बताउनुभयो । केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले संविधान र अहिलेको व्यवस्थालाई असफल बनाउन प्रतिक्रियावादी शक्ति लागिपरेको बताउनुभयो ।

प्रतिगामीहरुको विरुद्ध अहिलेसम्मकै ठूलो संघर्ष र त्यागका लागि तयार हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रचण्डले भन्नुभयो– ‘पहिलाका तुलनामा कयौं गुणा बढी त्यागका लागि तयार हुनुपर्छ ।’ आन्दोलनलाई अघि बढाउने, संगठनलाई जीवित तुल्याउने र जनताका अधिकार रक्षा गर्नु अहिलेको प्राथमिकता रहेको बताउँदै क्रान्तिका उपलब्धिलाई रक्षा गर्ने काम आफूहरुको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

उहाँले सात दशक लामो संघर्षको परिणामस्वरुप जनताले संविधानसभामार्फत बनाएको संविधानलाई कसैले अपहरण गर्ने दुस्साहस नगर्न चेतावनी दिनुभयो । संविधानविपरीत गएर प्रतिनिधिसभा विघटन गर्ने, जनताको अधिकार खोस्ने कदमका विरुद्ध कानुनी लडाइँ, त्यसले नभए सडक संघर्षबाटै जनताको अधिकार रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार हुनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी प्रचण्ड–नेपाल समूहले संसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारदेखि पुस २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्दै सोही टोली निर्वाचन आयोगमा जानेछ ।

११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसै गरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

त्यसै गरी बैठकले दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

त्यसै गरी अध्यक्ष ओली समूहको केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, बागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

त्यसैगरी जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गर्ने निर्णय गरेको बताउँदै प्रवक्ता ज्ञवालीले अध्यक्षको जिम्मेवारी भने यथावत् राखिएको जानकारी दिनुभयो । त्यसै गरी नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा अध्यक्ष ओली समूहको बैठकमा सहभागी हुनुभएको छ ।

यसैबीच बिहीबार आफू पक्षीय केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै प्रचण्ड र नेपाल पार्टी कार्यालय बल्खु पुग्नुभएको थियो । प्रचण्ड–माधव नेपालसहितका नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेर स्वर्गीय नेता मदन भण्डारीको सालिकमा माल्यापर्ण गर्नुभएको छ । मदन भण्डारीको सालिकमा माल्यार्पण गर्ने र देशभरि सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु आएको प्रतिक्रिया दिनुभयो । नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले बल्खुस्थित पार्टी कार्यालय भवन बनाउने सन्दर्भमा आफू जोडिएको भन्दै नेकपाको मूलधार आफूहरुले नेतृत्व गरेको बताउनुभयो ।
ग्रेसद्वारा देशभर आन्दोलनको घोषणा, बैठक आह्वान गर्न आग्रह जसपाको माग

नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेकाले विरोध प्रदर्शन कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।

संसद् विघटनपछि कांग्रेसले अलमलमा पर्न नहुने केन्द्रीय सदस्यहरुको सुझावको आधारमा बैठकले सरकारको विरुद्ध सशक्तरुपमा देशव्यापीरुपमा आन्दोलनमा जाने निर्णय लिएको छ । कांग्रेस वरिष्ठ नेता पौडल पक्षको तत्काल सडक संघर्षमा जानुपर्ने दबाबमा सभापति शेरबहादुर देउवा सहमत हुँदै आन्दोलनको घोषणा गरिएको बताइएको छ । बिहीबार बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार बैठकमा प्रस्तुत भएको थियो ।

यसैबीच जनता समाजवादी पार्टीले संसद् विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको र संसद् जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

जनता समाजवादीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सभामुखलाई सार्वभौम संसद् बोलाउन आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जवाफमा सभामुख सापकोटाले सबै दलसँग आफ्नो भूमिकाबारे छलफल गर्ने बताउनुभएको थियो । सभामुखलाई भेट्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव सिंहदबार जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्