पर्सामा मानव अधिकारका ६८ घटना एक बर्षको घटे



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा गएको जनवरी १ तारिकदेखि डिसेम्बर २३ तारिकसम्म एकबर्षको अवधिमा ६८ वटा विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरु भएको पाईएको छ । मानव अधिकार संम्बन्धि काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले मानवअधिकार बर्ष पुस्तक प्रकाशन अघि गरिने बार्षिक समिक्षा गोष्ठीमा यो घटनाको तथ्य सार्वजनिक गरेको हो ।

इन्सेक पर्साले बिहीबार आयोजना गरेको समिक्षा गोष्ठीमा पर्सामा २ बर्षदेखि १८ बर्षसम्मका बलात्कारका घटना सबैभन्दा बढी भएको तथ्यांक सार्वजनिक गरेको छ । कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार २ बर्षदेखि १८ बर्ष उमेरको बलात्कारका घटना ३१ वटा, १८ बर्षदेखिमाथिका बलात्कारका घटना ७ वटा, कर्तव्य ज्यानका १२ वटा, बाल यौन दुव्र्यवहारका ६ वटा, राज्यबाट दूव्र्यवहारका ४ वटा, बलात्कारका प्रयास ३ वटा रहेका छन् ।

त्यस्तै बोक्सीको आरोप एउटा, अप्राकृतिक मैथुन २ वटा, मानव बेचविखन एउटा, बहुविवाह एउटा गरी पर्सामा जम्मा ६८ वटा मानव अधिकार उल्लंघनको घटना भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मानव अधिकार संरक्षणको सवालमा राज्यको दोहोरो नीति हुन नहुनेमा जोड दिनुभयो ।

सञ्चार माध्यम र विभिन्न गैरसरकारी संघ संस्थाकै निगरानीले राज्यका निकायहरु अहिले सतर्क भएको बताउदै अझैपनि कतिपय जिम्मेवार निकायहरुमा मानवअधिकारको पूर्ण प्रत्याभूति गर्न नसकेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पछिल्लो समयमा प्रहरी मानवअधिकारको सवालमा प्रहरी अत्यन्त संवेदनशील रहेको बताउदै मानवअधिकार संरक्षणका लागि दत्तचित्त रहेको पनि बताउनुभयो ।

प्रहरी संगठनको पछिल्लो पुस्तामा उच्च शिक्षा हासिल गरेका दक्ष प्रहरी अधिकृतहरुको संख्या बढी रहेको र मानवअधिकार संरक्षणको सवालमा पनि उनीहरु जिम्मेवार रहेको बताउनुभयो । मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्