संसद् विघटनको विरोधमा जनता समाजवादी



कृष्णउदास खनाल, वीरगन्ज
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद् विघटन गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) सडकमा उत्रिएको छ । सो पार्टी पर्साले वीरगन्जमा बुधबार दिउँसो १२ बजे घण्टाघर चोकमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले विरोध प्रदर्शन नगर परिक्रममा पश्चात् पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागी भएका जसपाका नेताहरूले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको आरोप लगाएका थिए । उनीहरुले विभिन्न आन्दोलनमा बलिदानी दिएर जनताले ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्रीले प्रहार गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि जसपाका नेताहरू विरोधमा उत्रिएका थिए । विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्यहरु राजेशमान सिंह, निजामुद्दिन समानी, रमेश कुर्मी, हरिनारायण रौनियार, जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता रहेको पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय नीतिअनुसार नै पर्सा जिल्लामा विरोध प्रदर्शन गरिएको सचिव अहमद बताउनुहुन्छ ।

सरकारविरुद्ध जुलुस
रामधन राई, खोटाङ
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी खोटाङले विरोधमा जुलुस निकालेको छ । केन्द्रीय समितिको पूर्वघोषित कार्यक्रमअनुसार जनता समाजवादीले दिक्तेल बजारमा वुधबार प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेको हो ।
पार्टी कार्यालयबाट शुरु भएको विरोध जुलुस पुरानो बेस क्याम्प, संगमपार्क हुँदै रत्नपार्क पुगी पुनः फर्किएर त्रिवेणीचोकमा टुंगिएको थियो ।
रत्नपार्कमा जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोहन गुरुङ र त्रिवेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य सनबहादुर राईले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदम अलोकतान्त्रिक, गणतन्त्र र संघीयतालाई असफल बनाउने मनशायका साथ ल्याइएको वक्ताहरुको भनाइ छ । जनता समाजवादीले हलेसी तुवाचुङ नगरपालिकामा पनि विरोध जुलुससहित कोणसभा गरेको जनाएको छ ।
संसद् विघटनको विरोधमा पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्