बार्सिलोनाको प्रभावशाली जित



लन्डन, (एजेन्सी)
बार्सिलोनाले ला लिगामा प्रभावशाली जित निकालेको छ । कप्तान लिओनल मेसीले फुटबल इतिहासमै कीर्तिमानी गोल गरेको खेलमा बार्सिलोनाले भाल्लाडोलिडलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा उक्त खेलमा एक गोल गरेका मेसीले महान् ब्राजिलियन पेलेका नाममा रहेको रेकर्डसमेत भंग गरेर आफ्नो नाममा लेखाउन सफल भए । घरेलु मैदानमा बार्सिलोनाविरुद्ध टक्कर दिएर खेलेको भाल्लाडोलिडले खेलको २१औं मिनेटमा पहिलो गोल बेहोरेको थियो ।

कप्तान मेसीको पासमा फ्रेन्च डिफेन्डर क्लेमेट लेङलेटले हेडिङमार्फत बललाई सुन्दर ढंगले जाली चुमाएका थिए । मेसीले गरेको यो असिस्ट सिजनकै पहिलो लिग असिस्ट पनि हो । त्यसपछि खेलको ३५औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो । यसपटक युवा डिफेन्डर सर्जियो डेस्टको पासमा डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले गोल गर्दै
घरेलु टोलीविरुद्ध बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्यो । यसपटक कप्तान मेसीले डीबक्सभित्रबाट गोल गरे । युवा खेलाडी पेड्रीले चलाखीपूर्वक दिएको ब्याकहिल पासमा मेसीले सो गोल गरेका थिए । यसै गोलको मद्दतमा मेसीले पेलेका नाममा रहेको सिंगल क्लबका लागि ६ सय ४३ गोलको रेकर्डसमेत भंग गरे । पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि करिअरभरि ६ सय ४३ गोल गरेका थिए ।

भाल्लाडोलिडविरुद्ध गरेको गोल मेसीका लागि ६ सय ४४ क्लब गोल थियो । मेसीको गोलपछि खेलमा थप गोल हुन सकेन र खेल बार्सिलोनाले खेल जित्यो । यो जितपछि बार्सिलोनाले १४ खेलपछि २४ अंक जोडेको छ । यता, पराजित भाल्लाडोलिडको १५ खेलपछि १४ अंक छ ।

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको मेड्रिडले पनि सहज जित निकाल्यो । मंगलबार राति भएको लिगको १३औं साताको खेलमा एथ्लेटिकोले रियल सोसिडाडलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गरेको हो । सोसिडाडको घरमा पाहुना टोली एथ्लेटिकोलाई जिताउनेक्रममा खेलको ४९औं मिनेटमा पहिलो गोल मारियो हेर्मोसोले गरेका थिए । त्यसपछि बराबरीमा फर्किन संघर्षरत सोसिडाडले एथ्लेटिकोको रक्षापंक्ति छिचोल्न सकेन ।

त्यस्तै, खेलको ७४औं मिनेटमा एथ्लेटिकोका लागि युवा स्टार मार्कोस लोरेन्टोले दोस्रो गोल गरे । त्यसपछि बा“कि समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल एथ्लेटिकोले जित्यो । यो जितसँगै एथ्लेटिकोले १३ खेलबाट ३२ अंक जोडेको छ । पराजित सोसिडाडको १६ खेलपछि २५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्