करिनाले किताब लेखेर गर्भवतीलाई सघाउने



बलिउड नायिका करिना कपुर खान अब लेखिका बन्ने भएकी छिन्। उनी अब छिट्टै आफ्नो पहिलो किताब करिना कपुर खान्स प्रेग्नेन्सी बाइबल ल्याउने तयारीमा छिन्। बलिउड अनलाइन खास खबरका अनुसार उनले यस कुराको जानकारी हालै आफ्नो छोरा तैमुर अली खानको चौथो जन्मदिनको अवसरमा दिएकी हुन्। करिनाले प्रकाशनमा ल्याउन लागेको उक्त किताबले गर्भवती महिलाका लागि गाइडका रूपमा काम गर्नेछ। उक्त किताब आउँदो वर्ष सार्वजनिक हुने करिनाले बताएकी छिन्।
उनले भनेकी छन्– ‘आमा बन्न लागेका सम्पूर्ण महिलाका लागि मेरो किताब उपयोगी हुनेछ। म उक्त किताबमा मर्निङ सिकनेसदेखि डाइट तथा फिटनेसका बारेमा कुरा गर्नेछु। सन् २०२१ मा उक्त किताब प्रकाशित हुनेछ।’ सन् २०१२ मा अभिनेता सेफ अलिखानसँग विवाह गरेकी करिनाले सन् २०१६ मा छोरा तैमुरलाई जन्मदिएकी थिइन्। बच्चा जन्माएपछि पनि आफ्नो शरीरलाई पहिलेजस्तै फिट राख्न सफल करिनाको फिटनेसको चर्चा बेला–बेलामा भइरहन्छ। हाल गर्भवती रहेकी करिना गर्भावस्थामा पनि अमिर खानको आगामी फिल्म लालसिंह चढ्ढाको काममा व्यस्त छिन्।

प्रतिक्रिया दिनुहोस्