हेटौंडामा कलाका लागि कला



हेटौंडा, (नेस)
हेटौंडाको हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयले ५४औं वार्षिकोत्सवका अवसरमा आगामी पुस १२ गतेबाट कलाका लागि कला नै भन्ने नारासाथ आठदिने मूर्तिकला कार्यशाला गर्ने भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि मूर्तिकला कार्यशाला गर्न लागिएको जानकारी गराए।

दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो। यसका लागि करिब साढे दुई लाख खर्च लाग्ने अनुमान छ। यसले काठमाडौंबाहिर फाइन आर्ट कलेजको रूप छिट्टै धारणा गर्ने जनाउँदै रम्तेलले सबैको साथ र हौसला जरुरी रहेको बताए।

शिक्षापछि विद्यार्थीले तयार पारेका मूर्ति संरक्षित गर्न उनले संग्रहालयको आवश्यकता औंल्याए। मूर्तिकलाको विकास र विस्तारकै लागि २०६९ सालमा मकवानपुरको हेटौंडा–१८ हर्नामाडीमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको थियो। कार्यशाला आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, आरम्भ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्