स्वास्थ्यकर्मीलाई बालरोगसम्बन्धी तालिम



नेपाल समाचारपत्र, म्याग्दी
समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत नयाँ स्वास्थ्यकर्मीका लागि मंगलबारदेखि तालिम शुरु गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र यूएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

स्वास्थ्यकर्मीलाई नवजात शिशु र बालबालिकामा देखिने रोगहरुको एकीकृत व्यवस्थापन गर्न सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको छ ।

यसै गरी, नवजात शिशु र बालबालिकामा लाग्ने रोगहरुको एकीकृत व्यवस्थापन (आईएमएनसीआई) कार्यक्रमको नवजात शिशु र बालबालिकामा लाग्ने रोगबाट बिरामी हुने दर तथा मृत्युदर कम गर्ने उद्देश्य रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । तालिम अवधिभर नवजात शिशु र बालबालिकामा देखिने रोगहरुको व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरिनेछ ।

तालिममा बालरोगको निरुपण, उपचार तथा आवश्यकताको आधारमा प्रेषण माथि पठाउने, निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, कानको संक्रमण, कुपोषण, रक्तअल्पता जस्ता रोगको पहिचान तथा उपचार, नवजात शिशुमा स्तनपान गराउने तरिका, आसनहरु र पोषणका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ ।

तालिमको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्साल, बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर दीपेश पण्डित, बुर्तिबाङ स्वास्थ्य केन्द्र बागलुङका मेडिकल अधिकृत डा. मिलन मल्ल, सुआहारा कार्यक्रम म्याग्दीका स्वास्थ्य तथा पोषण अधिकृत रुवी जोशी र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ ।

आगामी ६ दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दीको ६ वटा स्थानीय तहअन्तर्गत रहेका फरक–फरक स्वास्थ्यचौकीबाट दुई–दुई जनाका दरले १२ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्