रहेनन् राणाका लागि काँध खियाएका मोक्तान



न्युज अफ नेपाल, हेटौंडा ।

जहानियाँ राणाका लागि मकवानपुरको भीमफेदी–चित्लाङ–चन्द्रागिरि हुँदै थानकोटसम्म गाडी बोकेर इतिहास रच्ने हीराबहादुर घलानको निधन भएको छ । उत्तरी मकवानपुरको थाहानगर–५, पुरण्डीका जिउँदो इतिहास ८९ वर्षीय घलानको मंगलबार राति करिब ११ बजे निधन भएको हो ।

पक्षघातपीडित उहाँ पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्नुहुन्थ्यो । थाहानगर–५ कै जुक्तबहादुर वाइबाकोे करिब दुई वर्षअघि निधन भएपछि घलान राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एकमात्र जीवित पात्र हुनुहुन्थ्यो । गाडीले मान्छे बोक्ने यो समय घलानको निधनसँगै नेपालमा गाडी बोक्नेको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

वडाकै ज्येष्ठ घलानको निधनले आफँ अत्यन्त दुःखी भएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो । बिरामी र बृद्धावस्थाका कारण घलान केही वर्षयता घर छाडेर जान सक्नुभएको थिएन । २२ दिन लगाएर गाडी बोकेको ज्याला ९ रुपियाँ लिएर जीवनभर २५ गाडी बोक्नुभएका घलानले १८ वर्ष उमेरमा गाडी बोक्न सुरु गर्नुभएको थियो ।

करिब सात दशक पहिले हालको जस्तो सडकसुबिधा थिएन । त्यसबेला राणा शासकले चढ्ने गाडी त्रिभुवन राजपथ बन्नुअघिसम्म घलानजस्ताले काँध थापेर मकवानपुरको भीमफेदीहुँदै काठमाडौंको थानकोट पु¥याउने गरेको नगर मेयर लवशेर बिष्टले स्मरण गर्नुभयो ।

मेयर बिष्ट घलानको निधनले एक जिउँदो इतिहास मेटिएकोमा आफँ निकै दुःखी भएको बताउनुभयो । उहाँले भन्नुभयो–राजा÷महाराजाले चढ्ने गाडी बोक्ने एक महान् योद्धाको निधनले मर्माहित बनाएको छ । एक सच्चा इतिहास हाम्रो माझबाट सदाका लागि मेटिएको छ । उहाँको निधन भए पनि उहाँको योगदान कहिल्यै मेटिन नदिन प्रयास गर्नेछौं ।

यस्ता ऐतिहासिक व्यक्ति, त्यसमाथि अझै आफ्नै नगरका भएका कारण घलानको मृत्युपछि पनि उत्तिकै सम्मान गरिरहने मेयर बिष्टको भनाइ छ । स्थानीय जनप्रतिनिधि चमेली वाइबाले भन्नुभयो–हाम्रो एउटा इतिहास अन्त्य भयो । उहाँका अनुसार सँगै गाडी बोक्ने छिमेकी वाइबाको मृत्युपछि घलान आफँले एक्लो महसुस भएको सुनाउन्ुहुन्थ्यो ।

छिमेकी भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा घलानको निधनले आफँमात्र नभएर सबैलाई मर्माहित तुल्याएको बताउनुभयो । २००६ सालदेखि गाडी बोकेर काठमाडौं पु-याउने काम गरेका एक इतिहास मेटिएकोले दुःख लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–इतिहास बोकेका मानिसको जीवन सकिनेबित्तिकै बिर्सन हँुदैन । र, उनको नाम अमर राख्न राज्यका तर्फबाट प्रयत्न हुनुपर्छ । जिउँदो इतिहास सधैंका लागि मेटिन दिनुहुँदैन । अमर बनाइराख्न सबैले कदम चाल्नुपर्छ ।

फाखेल, मार्खु, सर्वाङ, बिसिङ्खेल, चित्लाङलगायत क्षेत्रबाट भरियाका रुपमा गाडी बोकेर राजा÷महाराजालाई चढाउन तत्पर घलानको निधन भए पनि गाउँपालिकाको बाटोमा उहाँले गाडी बोकेको योगदान कहिल्यै बिलाउन दिन नहुने अर्को छिमेकी इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–हामी सानो छँदा फलानोले गाडी बोकेर काठमाडौं पु-याएर आयो भन्दै हाम्रा बुबाहरुले कुरा गरेको सुन्थ्यौं । हामीलाई विश्वास कम लाग्यो, मान्छेले पनि गाडी बोक्छ र भनेर । तर, पछि थाहा भयो यो साँच्चै एक अविश्वनीय कुरा रहेछ । हाम्रा लागि त इतिहास बोकेका व्यक्तिको मृत्यु भएको छ । उहाँको निधनले दुःखी तुल्याएको छ । ऐतिहासिक व्यक्तिको नाम सधैं अमर राख्न सरकारले केही गर्नु जरुरी छ ।

त्यसबेला साना गाडी ३२, मझौला गाडी ६४ र ठँला मोटर ९६ लाठे (जवान) ले बोक्थे रे । घलानले ९६ जनाले बोक्ने गाडी एक पटकमात्र बोक्नुभएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोक्नुभएको थियो । उहाँले २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पु-याएको कमाइले पुरण्डीमा ३० रोपनी जग्गा जोड्नुभएको थियो ।

सात दिनमै गाडी बोकेर काठमाडौं पु-याएबापत् खुशी भएर उहाँको टोलीलाई राणाहरुले २० रुपियाँ बक्सिस दिएका थिए ।
त्यसबेला खुट्टामा जुत्ता हुने नहुँदा परालको जुत्ता लगाएर गाडी बोक्नुहुन्थ्यो उहाँ । राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न सानो फाखेल, ठँलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिङ्खेल, चित्लाङका बासिन्दा भरिया हुन जाने गर्थे । थाहानगरको तसर गाउँका ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । आफ्ना बुबाले राणाको गाडी बोकेको हँुदा घलान पनि त्यही काममा लाग्नुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्