म्याग्दीमा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम सुरु



प्रताप बानियाँ, म्याग्दी ।

समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत नयाँ स्वास्थ्यकर्मीका लागि मङ्गलबारदेखि तालिम सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

स्वास्थ्यकर्मीलाई नवजात शिशु र बालबालिकाहरुमा देखिने रोगहरुको एकीकृत व्यवस्थापन गर्न सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको छ । यसैगरी नवजात शिशु र बालबालिकाहरुमा लाग्ने रोगहरुको एकीकृत व्यवस्थापन (आईएमएनसिआई) कार्यक्रमको नवजात शिशु र बालबालिकाहरुमा लाग्ने रोगबाट बिरामी हुने दर तथा मृत्युदर कम गर्ने उद्देश्य रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

तालिम अवधिभर नवजात शिशु र बालबालिकाहरुमा देखिने रोगहरुको व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरिनेछ ।
तालिममा बालरोगको निरुपण, उपचार तथा आवश्यकताको आधारमा प्रेषण माथि पठाउने, निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, कानको संक्रमण, कुपोषण, रक्तअल्पता जस्ता रोगहरुको पहिचान तथा उपचार, नवजात शिशुमा स्तनपान गराउने तरिका, आसनहरु र पोषणका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ ।

तालिमको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्साल, बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर दिपेश पण्डित, बुर्तिबाङ स्वास्थ्य केन्द्र बागलुङका मेडिकल अधिकृत डा. मिलन मल्ल, सुआहारा कार्यक्रम म्याग्दीका स्वास्थ्य तथा पोषण अधिकृत रुवी जोशी र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ ।

आगामी ६ दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दी जिल्लाको ६ वटा स्थानीय तहअन्तर्गत रहेका फरकफरक स्वास्थ्यचौकीबाट दुईदुई जनाका दरले १२ जनाको सहभागिता रहेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालको अध्यक्षता र परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीको सञ्चालनमा सुरु भएको तालिमको उद्देश्यमाथि सुआहाराका स्वास्थ्य तथा पोषण अधिकृत जोशीले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्