धुलिखेलका मेयर ब्याञ्जु अन्तरसम्वन्ध समितिमा नियुक्त



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु तीन तहका सरकार जोड्ने समन्वय तथा अन्तरसम्वन्ध समितिमा नियुक्ति हुनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक समन्वय शाखालाई विषयगत समिति गठन गरी २०७७ मसिंर २३ गते अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाको मन्त्रीस्तरीय निर्णयले धुलिखेल नगरपालिका प्रमुख ब्याञ्जुलाई सदस्यमा नियुक्ति गरेको जानकरी गराएको छ ।

उक्त समितिमा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेका छन् भने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सात जना मन्त्रीहरु सदस्य रहेका छन् । ९ सदस्यीय समितिमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सदस्यमा नियुक्ति भएका हुन् ।

विषयगत समितिले विषयसँग सम्वन्धित क्षेत्रका योजना, नीति तथा कानूनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श गर्नेछ । क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरुपता, निरन्तरता एवं गुणस्तरीयता कायम गर्न तथा कानून, योजना, नीति तथा रणनीतिहरुको कार्यान्वयनमा प्रभावकारीता ल्याउन समन्वय गर्ने, विषयसँग सम्वन्धित क्षेत्रका राष्ट्रिय नीति तर्जुमाको लागि परिपद्लाई सुझाव दिन, परिषद्को निर्णय एवं निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारी प्रदान गर्नेछ ।

परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने कानुनी ब्यवस्था छ । परिषदले विशेष समिति गठन गर्न सक्ने ब्यवस्था अनुसार विषयगत समिति गठन भएको हो । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्वन्ध सम्वन्धमा ब्यवस्था गर्न ऐनको निर्माण भएको छ ।

सोहि ऐनले मुलुकले अङ्गिकार गरेको बहुदलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणका लागि नेपालको संविधान बमोजिम राज्यशक्तिको प्रयोग गर्ने संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्वन्ध सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगका आधारमा ब्यवस्थापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्