के भएको हो मोक्तानलाई ?



न्युज अफ नेपाल, हेटौंडा ।

झट्ट हेर्दा एक सय वर्ष पार गरेकी जस्तो देखिने बकैया गाउँपालिकाकी एक वृद्धा । मकवानपुरको पँर्वी क्षेत्रकी उनी एक दशक भन्दा बढी समयदेखि अज्ञात रोगले पीडित छिन् । पालिको वडा नम्बर–१, बिजुलडाँडाकी करिब ६५ वर्षकी महेन्दोमाया मोक्तान अज्ञात रोगले पीडित छिन् ।

उनको शरीर हेर्दा सय वर्ष पार गरेजस्तो देखिन्छन् । हेर्नेले उनलाई सय पार गरेकै भनेर अन्दाज गर्छन् । उनी दिनभर एकै ठाँउमा बस्छिन् । हालसम्म उनलाई के भएको हो भन्ने कुराको पत्तो छैन । घरको आर्थिक अबस्था निकै कमजोर हुनुका साथै नागरिकतासमेत नहुँदा राज्यबाट पाउने सेवाबाट उनी बञ्चित छिन् ।

घरनजिक स्वास्थ्य संस्थाबाट गाउँलेको सहयोगमा सेवा लिँदासमेत के भएको भन्ने उनको रोग पत्ता लगाउन सकिएको छैन । अस्पतालसम्म पुग्न उनलाई आर्थिक अभाव छ । आर्थिक अभाव र नागरिकता नभएका कारण सरकारले दिने सेवासुबिधाबाट बञ्चित भएकी मोक्तानकी छिमेकी वीरबहादुर भोम्जनले जानकारी दिनुभयो ।

उहाँले मोक्तानका पतिबाहेक परिवारका सदस्य साथमा नभएको बताउनुभयो । उहाँले मोक्तानका पतिसमेत वृद्ध भइसकेकाले सम्बन्धित निकायमा पुग्न नसक्दा नागरिकता नपाएको हुनसक्ने बताउनुभयो । उनका एक छोरा छन् । तर, छोराले समेत बेवास्ता गरेको छिमेकी भोम्जनले बताउनुभएको छ ।

उहाँले गाउँपालिकाका जनप्रतिनिधिले घरमै पुगेर मोक्तानको अबस्था हेरेर नागरिकताको पहल गर्नुका साथै अपांगता परिचयपत्र बनाएर राज्यबाट प्राप्त हुने सेवासुबिधा दिनुपर्ने बताउनुभयो । वृद्धाको उपचारका लागि सहयोग गर्न उहाँको आग्रह छ ।

ऐलानी जग्गामा बस्दै आएकी मोक्तानका पति दिनभर काम गर्छन् । थोरै भए पनि जग्गा रहेका कारण खेतीपाती गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् । पतिले उनलाई स्याहारसुसार गर्दै आएका छन् । वडा अध्यक्ष बुद्धिमान वाइबाका अनुसार मोक्तानलाई सहयोग गरिएको थियो । ‘कपडा दिँदा मोक्तानले फाल्ने गरेकी छन्,’ वडा अध्यक्ष वाइबाले भन्नुभयो ।

वडामा स्वास्थ्य शिविर आउँदासमेत उनी जचाउन आउन मान्ने नगरेको उहाँले बताउनुभयो । मोक्तानको परिवारले नै उपचारमा चासो नदेखाएको अध्यक्ष वाइबाको दाबी छ । वडा अध्यक्ष वाइबाका अनुसार ती वृद्धा कसैले भनेको पनि मान्ने गरेकी छैनन् । यस विषयमा गाउँपालिका कार्यालयमा कुरा उठाइने वाइबाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्