सरकार बिरुद्ध स्वास्थ्यकर्मीले गरे आन्दोलनको घोषणा



न्युज अफ नेपाल, काठमाडौ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशगत संघ, संगठनहरुको संयुक्त संघर्ष समितिका संयोजक तथा नेपाल चिकित्सक संघका अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरि बिरोध कार्यक्रमको घोषणा गरेका छन् ।

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र सदय सचिव माईकल देवकोटाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा मंसिर ७ गते १९ वटा स्वास्थ्य .क्षेत्रका पेशागत तथा स्वास्थ्य सेवामा क्रियाशील टे«ड यूनियन संघ संगठनहरुबाट संयुक्त रुपमा १८ बुँदें ज्ञापन पत्र सहित २१ दिने अल्टिमेटम स्वास्थ्य मन्त्री समक्ष बुझाएकोमा व्यवास्ता गरिएकाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

विज्ञप्तीमा भनिएकोछ-सरकारले ज्ञापनपत्र उपर सम्वादको वातावरण समेत सिर्जना नगरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै पौष ७ गते बसेको संयुक्त संघर्ष समितिको बैठकको निर्णय बमोजिम बाध्यतावस निम्न लिखित आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएकोले देशभरका सम्पूर्ण सरोकारवाला संघ संस्था, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा पालना गरी घोषित आन्दोलनका कार्यक्रमलाई सफल तुल्याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

संघर्ष समितिको पहिलो चरणको कार्यक्रममा पहिलो जनजागरण अभियान अन्तर्गत ७ वटै प्रदेशमा विभिन्न रचनात्मक कार्यक्रम तथा स्वास्थ्यकर्मीहरुलाई जागरण गराउने र दोस्रोमा पौष १२ गते बिहान ११–१२ः३० बजे सम्म संघ अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आसपास (माइतीघर मण्डला) मा प्ले कार्ड सहित मौन धर्ना कार्यक्रम गर्ने रहेको छ ।

उल्लेखित आन्दोलनका कार्यक्रमहरुको आयोजना पश्चात् पनि नेपाल सरकारले हाम्रा मागहरु सम्बोधन नगरेको अवस्थामा दोस्रो चरणमा कडा बिरोधका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने र यसबाट सर्व साधारण नागरिकहरुमा पर्न जाने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुने व्यहोरा समेत उल्लेख गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्