बेन्जेमा सिजनको सर्वोत्कृष्ट खेलाडी



मड्रिड, एजेन्सी।

स्पेनिस फुटबल क्लब रियल मेड्रिडका फरवार्ड करिम बेन्जेमाले ला लिगा सिजन २०१९–२० कै बेस्ट खेलाडीको अवार्ड जितेका छन् । सोमबार फ्रेन्च फरवार्डलाई गत सिजनकै सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । बेन्जेमाले करिअरमा पहिलोपटक लिगको बेस्ट खेलाडीको अवार्ड जित्दा बार्सिलोनाका मेसीलाई पछि पारे । गत सिजन रियल मेड्रिडले बार्सिलोनालाई पछि पार्दै लिग च्याम्पियन बनेको थियो ।

रियललाई लिग विजेता बनाउनेक्रममा बेन्जेमाले निर्णायक भूमिका खेलेका थिए । गत सिजन मेसी सिजनकै सर्वाधिक गोलकर्ता बने पनि यस विधामा बेन्जेमाले उनलाई उछिन्न सफल भए । ला लिगाको उपाधि गुमाएकाले पनि मेसी सिजनको बेस्ट खेलाडी अवार्डबाट वन्चित भएका हुन् ।

यससँगै सन् २००९ यता रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका मेसीको दबदबा तोड्दै ‘बेस्ट प्लेयर अफ् द सिजन’ अवार्ड जित्ने बेन्जेमा पहिलो खेलाडी समेत बनेका छन् । सन् २००९ देखि २०१९ सम्म आइपुग्दा यसअघि मेसी र रोनाल्डोबाहेक यो अवार्ड अन्य कुनै पनि खेलाडीले जितेका थिएनन् ।

त्यस्तै, रियल मेड्रिडकै प्रमुख प्रशिक्षक जिनेदिन जिदान पनि ‘बेस्ट कोच अफ् द सिजन’ घोषित भए । फ्रेन्च म्यानेजर गत सिजन २०१९–२० का लागि ला लिगाकै बेस्ट प्रशिक्षक घोषित भएका हुन् । ला लिगामा विभिन्न विधागत अवार्ड वितरण गर्ने चर्चित पत्रिका ‘मार्सा’ ले उनलाई सिजनकै बेस्ट प्रशिक्षकले पाउने ‘मिगुएल मुनोज’ अवार्ड प्रदान गरेको हो ।

‘मिगुएल मुनोज’ हरेक सिजन लिगको बेस्ट प्रशिक्षकलाई दिने अवार्ड हो । जिदानले पहिलोपटक यो अवार्ड जितेका हुन् । गत सिजन रियलले जिदानकै नेतृत्वमा बार्सिलोनालाई पछि पार्दै ला लिगा च्याम्पियन बनेको थियो । जिदानले प्रशिक्षकका रूपमा ला लिगा दोस्रोपटक गत सिजन जितेको थियो ।

त्यस्तै, रियल मेड्रिडकै गोलरक्षक थिबाउट कोर्टुवा पनि ‘बेस्ट गोलकिपर अफ् द सिजन’ घोषित भए । बेल्जियमका गोलकिपर गत सिजन २०१९–२० को ला लिगाकै बेस्ट गोलकिपर घोषित भएका हुन् । ला लिगामा विभिन्न विधागत अवार्ड वितरण गर्ने चर्चित पत्रिका ‘मार्सा’ ले उनलाई सिजनकै बेस्ट गोलकपिर घोषणा गर्दै ‘जामोरा ट्रफी’ अवार्ड प्रदान गरेका हुन् ।

जामोरा ट्रफी हरेक सिजन लिगको बेस्ट गोलकिपरलाई दिइने अवार्ड हो । गत सिजन रियलले बार्सिलोनालाई पछि पार्दै ला लिगा च्याम्पियन बन्दा कोर्टुवाले उच्च प्रदर्शन गरेका थिए । गत सिजन उनले ला लिगामा अन्य कुनै पनि गोलकिपरको भन्दा बढी क्लिन सिट राखेका थिए । कोर्टुवाले बार्सिलोनाविरुद्ध २–० को जितसहित सबैभन्दा धेरै १४ खेलमा क्लिन सिट राखेका थिए । उनीपछि एथ्लेटिको मेड्रिडका गोलकिपर जान ओब्लाक दोस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्