‘लागुऔषधविरुद्ध कारबाही अभियान’ : गाँजाविरुद्ध प्रदेश प्रहरी आक्रामक



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको बकैया गाउँपालिका–६, गोबरस्थानलगायत गाउँमा पुगेर स्थानीयको ७ बिगाहा जग्गामा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट ग¥यो । गाँजाखेती फँडानीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमलकुमार लुंगेलीको कमाण्डमा खटिएको टोली गाउँ पुगेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अवैध गाँजाविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । जसअनुसार प्रहरीले प्रदेशका विभिन्न जिल्लामा अवैधरुपमा हुने गरेको लागुऔषध खेती नष्ट गर्ने र लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न मंसिरलाई ‘लागुऔषधविरुद्ध कारबाही अभियान’ का रुपमा सञ्चालन गरेको थियो ।

गाँजा फुकुवाबारे बिघटित संसदमा सांसदहरुले आवाज उठाएको बेला प्रहरी भने आक्रामक देखिएको हो । प्रदेशअन्तर्गत् जिल्लामा अवैधरुपमा लगाइएको गाँजा, अफिम खेती नष्ट गर्ने कार्य सम्पन्न भइनसकेकोले लागुऔषधको अवैध खेती नष्ट गर्ने अभियानलाई पुस महिनामा पनि निरन्तरता दिइने प्रहरीले बताएको छ ।

बागमती प्रदेशअन्तर्गत् मकवानपुर, चितवन, सिन्धुली र धादिङलगायत जिल्लामा अवैध लागुऔषध खेती हुने र पँर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागुऔषधको गैरकानुनी खेती र ओसारपसार नियन्त्रण गर्ने उद्धेश्यले कारबाही अभियान सञ्चालन गरिएको प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।

विभिन्न मितिमा गरी एक महिनामा ३ सय ७१ बिगाहा ५६ कठ्ठा २७ धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशअन्तर्गत् जिल्लामा गरी ४ सय २८ प्रहरी परिचालित गरिएको थियो । मकवानपुरमा एक महिनामा २ सय ३५ बिगाहा ५ कठ्ठा ५ धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको थियो भने चितवनमा ५० बिगाहा, सिन्धुलीमा ६३ बिगाहा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिगाहा ८ कठ्ठा गरी मंसिरमा ३ सय ७१ बिगाहामा लगाइएको गाँजाखेती नष्ट गरिएको उहाँले बताउनुभयो ।

मकवानपुरको उर्वरभँमि मानिने बिकट राक्सिराङ गापाअन्तर्गत् वडा–८ र ९ मा मंसिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फँडानीअन्तर्गत् २ सय २३ बिगाहामा लगाइएको गाँँजाखेती नष्ट गरिएको थियो । मंसिरलाई लागुऔषधविरुद्ध कारबाही अभियानका रुपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागुऔषध चरेश ५० केजी बरामद भएको छ ।

औषधीजन्य लागुऔषधअन्तर्गत् डाइजेपाम ७५ एम्पुल, फेनारगन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट १ हजार २ सय ट्याब्लेट, नाइट्रोजेपाम ४५ ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको थियो । मंसिरभित्र लागुऔषध ओसारपसार गर्ने २० जनालाई पक्राउ गरिएको छ भने ४ जना फरार रहेकाको खोजतलास भइरहेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न ६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो । नेकपा सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई नियमन गर्न भन्दै निजी विधेयक संसदमा दर्ता गराउनुभएको थियो । गैरसरकारी विधेयकका रुपमा नेकपा सांसद तामाङले ‘गाँजाखेतीलाई नियमन र व्यबस्थापन गर्न बनेको विधेयक, २०७६’ दर्ता गराउनुभएको हो ।

यसअघि नेपालमा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने भन्दै नेकपाका मकवानपुरे सांसद विरोध खतिवडा प्रस्तावक रहेको संकल्प प्रस्ताव संसदमा दर्ता भइसकेको छ । जुन प्रस्तावको समर्थकमा नेकपाकै ४५ जनाभन्दा बढी सांसद छन् । नेपालले गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने मकवानपुरका प्रतिनिधिसभाका सदस्य खतिवडा, पँर्वमन्त्री तामाङलगायतले वकालत गर्दै आउनुभएको छ । गाँजाखेतीबाट विश्वका अन्य मुलुकले भने आर्थिक लाभ लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्