बायोएनटेकको कोरोना खोप बजारमा ल्याउन युरोपेली संघको अनुमति



आम्स्टर्डम (एजेन्सी)

कोरोना भाइरसको बढ्दो खतराबीच युरोपियन युनियनले बायोएनटेक र फाइजरले संयुक्त रुपमा विकसित गरेको कोविड १९ खोपलाई २७ देशको संगठन ईयूको बजारमा ल्याउन सोमबार औपचारिक रुपमा अनुमति दिएको छ । खोप बजारमा आएपछि सबै सदस्य देश क्रिसमसपछि आफ्ना नागरिकलाई महामारीबाट बचाउन पहिलो डोजको खोप लगाउन थाल्नेछ ।

उक्त खोप सबै सुरक्षा तथा गुणस्तर मापदण्डमा खरो उत्रिएको युरोपेली मेडिुिसन एजेन्सीले जानकारी गराएको केही घन्टापछि नै युरोपेली संघको कार्यकारी आयोगले खोपलाई बजारमा ल्याउन अनुमति दिएको हो । ब्रसेल्सलाई खोप बजारमा ल्याउन आवश्यक नियम तय गर्न दुई तीन दिन समय लाग्ने अनुमान गरिएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सला वोन डे लेयेनले भने, हामीले प्रतिबद्धता जनाए जस्तै युरोपेली संघका सबै देशमा एकै पटक, एक समान सर्तमा खोप उपलब्ध हुनेछ । यो अत्यन्तै कठिन बर्षको सुखद अन्त्य हो । अन्तत अब हामी कोविड १९ को यो अध्यायको पाना पल्टाउनका लागि तयार छौं ।

लेयनले खोपको आपुर्ति यही शनिवारबाट शुरु हुने र पुरै युरोपेली संघमा २७ देखि २९ डिसेम्बरबा बीच खोप लगाउन शूरु हुने छ । यसबीच बेलायनमा कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि ठुलो त्रास फैलिएको छ । यो नयाँ स्ट्रेनको भाइरसलाई कोविड २० को नाममा सामाजिक सन्जालहरुमा मानिसहरु चर्चा गरिरहेका छन् ।

बेलायतका स्वास्थ्यकर्मीहरुका अनुसार नयाँ स्ट्रेनको यो भाइरस ७० प्रतिशत बढी संक्रामक हुन सक्ने बताएका छन् । तर थप घातक भएको प्रमाण अझै प्राप्त भएको छैन । नयाँ स्ट्रेन भेटिएपछि युरोपका बाँकी अधिकांश मुलुक र क्यानाडा र केही एसियाली देशले बेलायतसँग हवाई तथा स्थल आवागमनमा रोक लगाएको छ ।

भारतले पनि डिसेम्बर ३१ सम्मका लागि बेलायतबाट आउने सबै उडानहरु रद्द गरेको छ । उक्त भाइरस भारतमा पनि प्रवेश गरेको हुन सक्ने अुनमान गरिएको छ । यसको संक्रमण फैलिनबाट रोक्न सोमबार भारत सरकारको मन्त्रीपरिषदको बैठकबाट उक्त निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्