रोनाल्डोलाई ‘गोल्डेन फुट अवार्ड’



लन्डन, (एजेन्सी)  ।

इटालियन सिरी ए क्लब युभेन्ट्स तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रतिष्ठित ‘गोल्डेन फुट अवार्ड’ जितेका छन् ।

आइतबार राति उनलाई वर्ष २०२० का लागि सो अवार्ड प्रदान गरिएको हो । यो अवार्ड रोनाल्डोले जितेको घोषणा गत महिना नै भएको थियो । रोनाल्डोले करिअरमा पहिलोपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले १८औं संस्करणको अवार्ड जितेका हुन् । गत वर्ष यो अवार्ड रियल मेड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिचले जितेका थिए ।

रोनाल्डोले अन्तिम मनोनयनमा परेका अन्य ८ जनालाई पछि पार्दै सर्वाधिक भोटका आधारमा अवार्ड जितेका हुन् । यसपटक गोल्डेन फुट अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, स्पेनिस बार्सिलोनाका लिओनल मेसी, रियल मेड्रिडका सर्जियो रामोस, इंग्लिस क्लब लिभरपुलका मोहमद सालाह, फ्रेन्च क्लब पिएसजीका नेयेमारसहितका खेलाडी मनोनयनमा परेका थिए ।

यो अवार्ड २८ वर्षभन्दा बढी उमेरका सक्रिय फुटबलरलाई मात्रै दिइन्छ । खेलाडीको व्यक्तिगत प्रदर्शन, सफलता र टिमको समेत सफलताका आधारमा यो अवार्ड घोषणा गरिन्छ । यो अवार्डका लागि दर्शक तथा समर्थकको भोट नै निर्णायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्