डा. कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’



न्युज अफ नेपाल ,काठमाडौं  ।

अर्थशास्त्री डा कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गर्नुभएको छ । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । कोभिड–१९ का कारण डा शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गर्नुभएको छ ।

डा शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ । उक्त अवार्ड प्राप्त गरेपछि डा शर्माले आफू थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत बिस्तारमा योगदान दिने बताउनुभयो ।

चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, सांस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको सांस्कृतिक, पर्यटकीय र नेपाल–चीन सहकार्य झल्किने भिडियो पनि प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्