व्यापार घाटा ३६२ अर्ब २९ करोड



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १४ दशमलव ९ प्रतिशत र ६ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९ दशमलव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्षको चार महिनामा कुल वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेर ४०२ अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६ दशमलव ९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३ दशमलव १ प्रतिशत, २५ प्रतिशत र १९ दशमलव ८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । आर्थिक वर्षको चार महिनामा कुल वस्तु व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेर ३६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात भने घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

वार्षिक बिन्दुगत आधारमा कात्तिक महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव ९ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ४ दशमलव २ प्रतिशतले घटेको छ । २०७६ कात्तिक महिनामा ५ दशमलव ९ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ कात्तिक महिनामा ५ दशमलव ३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद सेवा आय १५ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २ अर्ब ४९ करोडले घाटामा रहेको थियो सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३ दशमलव १ प्रतिशतले कमी आई १ अर्ब ८८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब १४ करोड रहेको थियो ।

त्यस्तै सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ६८ दशमलव ६ प्रतिशतले कमी आई ८ अर्ब ३ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय ६ अर्ब ८० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ११ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्