जो बाइडेनले लगाए कोरोनाविरुद्धको खोप



न्युज अफ नेपाल, एजेन्सी ।

अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाउनुभएको  हाे  । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताउनुभयो । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाउनुभएको थियो ।अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोना भाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि बाइडेनले बताउनुभयो । बाइडेनकी श्रीमती डा। जिल बाइडेनले पनि खोपको पहिलो डोज लिनुभएको छ ।उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्