सीमानाकामा २२ दिनदेखि आन्दोलन



वीरगन्ज, (नेस) ।

कोरोनाका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका खोल्नुपर्ने भन्दै वीरगन्जमा २२ दिनदेखि आन्दोलन भइरहेको छ । वीरगन्जपारि भारततर्फको सीमानाका खुले पनि नेपालतर्फको नाका नखोलेकोमा आक्रोश पोख्दै नेपाल–भारत सीमा संवाद समूहले आन्दोलन गरिएको हो ।

मंसिर मसान्तसम्ममा नाका खुलाउने कुरा भए प्नि सरकारले पुनः पुस मसान्तको समयसीमा निर्धारण गरेका कारण आफूहरुले आन्दोलनको स्वरूप परिवर्तन गरी सरकारलाई दबाब दिन लागेको सीमा संवाद समूहकी सदस्य रम्भा मिश्राले बताउनुभयो । उहाँले सरकारले आफूहरुको कुरा सुनुवाइ नगरेका कारण आन्दोलनको स्वरूप परिवर्तन गर्न लागिएको बताउनुभयो ।

सीमानाका बन्द हुँदा आफूहरुलाई ठूलो घाटा भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त बताउनुहुन्छ । भारततर्फ खुलै रहेको सीमानाका नेपालतर्फ पनि खुला रहेको तर औपचारिकरूपमा सरकारले खुला नगर्दा भारतीय पर्यटक नेपाल आउन नपाएकाले पर्यटन व्यवसाय शिथिल बनेको उहाँको कथन छ ।

भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले नेपाल सरकारले नाका खुला नगर्दा ८० प्रतिशत भारतीय पर्यटकमा निर्भर रहेको नेपालमा भारतीय पर्यटकहरु आउन नपाएको बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले यस विषयमा सरकारले नै निर्णय गर्नुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्