‘कंगारुले पनि मानिससँग सञ्चार गर्न सक्छ’



सिडनी, (एजेन्सी) ।

कंगारुले पनि कुकुरले जस्तै मानिसहरूसँग सञ्चार गर्न सक्ने नयाँ अनुसन्धानबाट खुलेको छ । अनुसन्धानकर्ताहरूले हालै प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा कंगारुहरूले एकसुरले हेरेर मानिसहरूसँग कुनै चिजतर्फ इंगित गर्न वा मद्दतका लागि अनुरोध गर्नसक्ने रोचक तथ्य उल्लेख गरिएको छ ।

यस अध्ययनका लागि खुल्लारूपमै छाडिएका ११ वटा कंगारुलाई प्रयोग गरिएको थियो । तिनीहरूमध्ये १० वटाले खाना राखिएको एउटा बाकस खोल्न नसक्दा अनुसन्धानकर्ताहरूलाई ‘एकटक’ हेरिरहने गरेको पाइयो ।

हङकङबाट फोन गर्दै यस अध्ययनको नेतृत्व गर्ने आइरिस अनुसन्धानकर्ता एलन म्याकएलिगटले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन्– ‘हामीले तिनीहरूले यसरी हेर्नुलाई सहयोगका लागि हामीलाई अनुरोध गरेको अर्थको रुपमा लिएका छौं ।’

यस अनुसन्धानको नतिजाले कुकुर, घोडा वा बोका बाख्राहरूले मात्र नभई जंगली अवस्थामा छाडिएका अन्य जनावरले पनि मानिससँग सञ्चार गर्न सक्ने पुष्टि गरेको छ ।

‘युनिभर्सिटी अफ सिड्नी’की सहायक अनुसन्धानकर्ता अलेक्जान्ड्रा ग्रिनले समस्या पर्दा पाल्तु जनावरले मात्र संकेत गर्न सक्ने पुरानो मानवीय सोचलाई यस अध्ययनले गलत साबित गरेको दाबी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्