कोरोना भाइरसको नयाँ स्ट्रेनतीव्रगतिमा फैलिन सक्षम



लन्डन, (एजेन्सी) ।

बेलायतको राजधानी लन्डनलगायत पूर्वी इंग्ल्यान्डमा कोरोना भाइरसको नयाँ स्ट्रेन अनियन्त्रित भएको छ । लन्डनको अत्यन्त खराब स्थितिलाई हेरेर युरोपसहित विश्वका कयौं देशले बेलायतसँगको उडानमाथि प्रतिबन्ध लगाएका छन् ।

नयाँ प्रकारको यो कोरोना बेलायतमा मात्र नभई इटाली, नेदरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र दक्षिण अफ्रिकामा पनि फैलिसकेको बताइएको छ । बेलायतमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्ट्रेन यसअघिको भाइरसको तुलनामा ७० प्रतिशत तीव्र गतिमा फैलिन सक्ने बताइएको छ । बेलायत सरकारले यो भाइरस नियन्त्रणबाहिर भएको चेतावनी जारी गरेपछि युरोपेली युनियनका कयौं देशले बेलायतबाट आउने सबै उडानमाथि रोक लगाएको छ । यसैबीच, बेलायतले पनि आइतबार कडा लकडाउन लागू गरेको हो । नयाँ कोरोना भाइरस संकटलाई लिएर युरोपेली संघमा पनि सोमबार बैठक बसेको छ ।

बेलायतमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्ट्रेनले थप त्रास बढाएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, बेल्जियम, अस्ट्रिया, आयरल्यान्ड, चिली र बुल्गेरियापछि अब साउदी अरेबियाले पनि कडा कदम चालेको छ । साउदी अरेबियाले उक्त नयाँ स्ट्रेनको भाइरस रोक्न अस्थायीरूपमा आफ्ना सबै अन्तर्राष्ट्रिय यात्रु विमान सेवा स्थगित गरेको छ । सार्क देशको सडक आवागमन तथा समुद्री बन्दरगाह पनि बन्द रहनेछ । सरकारले विगत तीन महिनामा युरोपबाट फर्केका सबैलाई तत्काल कोभिड–१९ जाँच गराउन आदेश दिएको छ ।

यसैबीच, दक्षिणी इंग्ल्यान्डमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि क्यानाडाले बेलायतसँगको सबै यात्रुवाहक उडानको परिचालनमा रोक लगाएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीहरूले यो भाइरस धेरै घातक हो वा यसले खोपविरुद्ध फरक प्रतिक्रिया दिन्छ भन्ने कुनै प्रमाण नदेखिएको तर यो ७० प्रतिशतभन्दा धेरै संक्रमण गर्न सक्षम देखिएको बताएका छन् । इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर क्रिस विट्टीले भने– ‘हामीले विश्व स्वास्थ्य संगठनलाई सतर्क गराइसकेका छौँ र भाइरसको नयाँ प्रकारका बारेमा थप बुझ्नका लागि उपलब्ध जानकारीको अध्ययन गरिरहेका छौँ ।

उनले भने– ‘अहिले नै यो स्वरूपको भाइरस अधिक घातक हो भन्ने कुनै प्रमाण जुटेको छैन । नेदरल्यान्ड र बेल्जियमले बेलायतबाट आउने सबै उडानमा रोक लगाइसकेको छ भने जर्मनीले उडानको संख्या सीमित गर्ने विचार गरिरहेको छ । बेल्जियमले बेलायत जोड्ने रेल सेवा पनि स्थगित गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘श्रेणी ४’ को कडा प्रतिबन्ध तत्काल कार्यान्वयन हुनेगरी लागू गरेको छ । यस चरणको प्रतिबन्धअनुसार नागरिकले आफ्नो घरबाहिरका कुनै पनि व्यक्ति वा अन्य व्यक्तिसँग भेटघाट गर्न पाइने छैन । यो रोक क्रिसमसभरि लागू रहनेछ । यसबाहेक जुन क्षेत्रमा खुकुलो प्रतिबन्ध लगाइएको छ, ती इलाकामा क्रिसमसका बेला अर्थात् मात्र २५ डिसेम्बरका दिन तीन परिवार एकत्र हुन छुट हुनेछ । तर, यो छुट पाँच दिनसम्मका लागि हुने छैन ।

लन्डन र त्यसको वरपरको इलाकामा कडा लकडाउन लागू गर्ने जोनसनको कडा कदमलाई ध्यानमा राख्दै युरोपेली देशले त्यसलाई आफ्नो देशमा फैलिन नदिन बेलायतसँगको उडानमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्