तीन दलको निष्कर्ष : प्रतिनिधिसभा विघटन असंवैधानिक



काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् । कांग्रेसको निमन्त्रणमा उसकै केन्द्रीय कार्यालय सानेपामा आज बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् ।

बैठकले तीनै दलले आगामी कार्यक्रम तय गर्न आआफ्ना पार्टीका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल एवं जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जीतेन्द्र सोनालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्