इंग्ल्यान्डमा देखिएको कोरोना भाइरसको नयाँ स्ट्रेनले त्रास बढायो, ७० प्रतिशत बढी फैलिन सक्षम



लन्डन (एजेन्सी)

बेलायतको राजधानी लन्डन लगायत पुर्वी इंग्ल्यान्डमा कोरोना भाइरसको नयाँ स्ट्रन अनियन्त्रित भएको छ । लन्डनको अत्यन्त खराब स्थितिलाई हेरेर युरोप सहित विश्वका कयौं देशले बेलायतसँगको उडानमाथि प्रतिबन्द लगाएको छ । नयाँ प्रकारको यो कोरोना बेलायत मात्र नभइ इटली, नेडरल्यान्ड, डेनमार्क, अष्ट्रेलिया र दक्षिण अफ्रिकामा पनि फैलिसकेको बताइएको छ ।

बेलायतमा फैलिरहेको कोरोना भाइरसको यो नयाँ स्ट्रेन यस अघिको भाइरसको तुलनामा ७० प्रतिशत तिब्र गतिमा फैलिन सक्ने जनाइएको छ । बेलायत सरकारले यो भाइरस नियन्त्रण बाहिर भएको चेतावनी जारी गरेपछि युरोपेली युनियनका कयौं देशले बेलायतबाट आउने सबै उडानमाथि रोक लगाएको छ । यसबिच बेलायतले पनि आइतबार कडा लकडाउन लागु गरेको हो । नयाँ कोरोना भाइरस संकतलाई लिएर युरोपेली संघमा पनि सोमबार बैठक बसेको छ ।

बेलायतमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्ट्रेनले थप त्रास बढाएको छ । क्यानाडा, फ्रान्स, जर्मनी, इटली, नेडरल्यान्ड, बेल्जियम, अष्ट्रिया, आयरल्यान्ड, चिली र बेल्गेरिया पछि अब साउदी अरेबियाले पनि कडा कदम चालेको छ । साउदी अरेबियाले उक्त नयाँ स्ट्रेनको भाइरस रोक्न अस्थायी रुपमा आफ्ना सबै अन्तराष्ट्रिय यात्रु विमान सेवा स्थगित गरेको छ ।

सार्थ देशको सडक आवागमन तथा समुद्री बन्दरगाह पनि बन्द रहनेछ । सरकारले विगत तीन महिनामा युरोपबाट फर्केका सबैलाई तत्काल कोविड १९ जाँच गराउन आदेश दिएको छ । यसैबीच दक्षिणी इंग्ल्यान्डमा कोरोना भाइरसको नया स्वरुप देखिएपछि क्यानाडाले बेलायतसँगको सबै यात्रुवाहक उडानको परिचालनमा रोक लगाएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले यो भाइरस धेरै घातक हो वा यसले खोप विरुद्ध फरक प्रतिक्रिया दिन्छ भन्ने कुनै प्रमाण नदेखिएको तर यो ७० प्रतिशत भन्दा धेरै संक्रमण गर्न सक्षम देखिएको बताएका छन् । इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर क्रिस विट्टीले भने , हामीले विश्व स्वास्थ्य संगठनलाई सतर्क गराइसकेका छौं र भाइरसको नयाँ प्रकारका बारेमा थप बुझनका लागि उपलब्ध जानकारीको अध्ययन गरिरहेका छौं ।

उनले भने, अहिले नै यो स्वरुपको भाइरस अधिक घातक हो भन्ने कुनै प्रमाण छैन ।नेडरल्यान्ड र बेल्जियमले बेलायतबाट आउने सबै उडानमा रोक लगाइसकेको छ भने जर्मनीले उडानको संख्या सीमित गर्ने विचार गरिरहेको छ । बेल्जियमले बेलायत जोड्ने रेल सेवा पनि स्थगित गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले श्रेणी ४ को कडा प्रतिबन्ध तत्काल कार्यान्वयन हुने गरी लागु गरेको छ । यस चरणको प्रतिबन्ध अनुसार नागरिकले आफ्नो घर बाहिरका कुनै पनि ब्यक्ती वा अन्य ब्यक्तीसँग भेटघात गर्न पाइने छैन । यो रोक क्रिसमसभरी लागु रहेनेछ ।

यो बाहेक जुन क्षेत्रमा खुकुलो प्रतिबन्द लगाइएको छ, ती इलाकामा क्रिसमसका बेला अर्थात मात्र २५ डिसेम्बरको दिन तीन परिवार एकत्र हुन छुट हुनेछ । तर यो छुट पाँच दिनसम्मका लागि हुने छैन । लन्डन र त्यसको वरपरको इलाकामा कडा लकडाउन लागु गर्ने जोनसनको कडा कदमलाई ध्यानमा राख्दै युरोपेली देशले त्यसलाई आफनो देशमा फैलिन नदिन बेलायतसँगको उडानमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्