मध्यपहाडी लोकमार्गको पर्वत खण्डको बन्द हट्यो, यातयात नियमित रुपमा सुचारु



दुर्गाप्रसाद शर्मा, पर्वत ।

दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबार देखि नियमित रुपमा सुचारु भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिएपनि सोमबार देखि यातयात सुचारु गरिएको हो । यस अघि हरेक दिन दैनिक बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म यातयात बन्द हुँदै आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका ८ चुवाको भीरमा कटान गर्नका लागि तीन हप्ताका लागि सडक बन्द गरिएको थियो । निर्माण कार्य पनि अघि बढाउँदै अबरुद्ध सडक पनि सुचारु गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।

सडक चक्लाबन्दी गर्ने काम भने अहिले सम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समय सम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सुचारु गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पुरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ‘केही समय बन्द खोलेर पनि काम गर्छौ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पुरा गर्ने योजना बनाएका छौ।’ कम्पनीका प्रतिनिधी राजाराम आचार्यले भन्नुभयो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका–७ खरेहादेखि वडा–८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रेको काम चलिरहेको छ। कालोपत्रेको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भीर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यस अघि बन्द गरिएको थियो ।

कम्पनीले मोदीखेत देखि ओढारे सम्म कालोपत्रे बिच्छाउने काम गरेको छ भने चुवा र छमर्केबाट पनि कालोपत्रेको काम थालेको जनाएको छ । आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असार सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्