मध्यपुर थिमिमा नयाँ प्रमुख प्रशासकीय अधिकृत



पुष्कर बुढाथोकी, भक्तपुर ।

मध्यपुर थिमि नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिब चुरामणी पन्थीलाई पठाएको हो ।पन्थी नगरपालिकामा हाजिर भैसकेका छन् ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भैसकेकाले नपाको गतिरोध अन्त्य हुँदै जाने बताउनुभयो ।अधिृकत छँदा पन्थिले जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा प्रमुख भई काम गरिसकेका छन् । यस अघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल गृहमन्त्रालय सरुवा भएका छन् ।

बिभिन्न दबाबमा परेर मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई गर्दा नगरपालिकाको काम कारबाही प्रभावित भएको थियो । नगरपालिकामा गत २३ कात्तिकमा बसेको कार्यपालिका बैठकले यस अघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकाकै हित बिपरीत कार्य गरेकाले तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको थियो ।

नगरपालिकाले रिजाललाई फिर्ता पठाउने निर्णय गरिसकेको अबस्थामा र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयले ढिलाई गर्दा नगरपालिकामा नक्सा पास, निर्माण सम्पन्न लगायत सर्वसाधारणका काम ठप्प भएको थियो । कर्मचारी तथा सेवा ग्राहीले समेत मन्त्रालयले छिटो नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएर जनताको काममा रहेको अबरोध फुकाउनुपर्नेमा दबाब दिंदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्