शिक्षकलाई छेडागाडको आधारभूत तालिम



वासुदेव शर्मा, जाजरकोट  ।

जाजरकोट छेडागाड नगरपालिकाले बाल विकास केन्द्रका शिक्षकहरुलाई १० दिने आधारभूत तालिम दिएको छ । शिक्षा क्षेत्रबाट समृद्ध नगरपालिका निर्माण गर्ने लक्ष्य लिएको छेडागाड नगरपालिकाले सबै वडामा बाल विकास केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठनलाई प्रभावकारी दिगो बनाउन नगरपालिकाले नियुक्त गरेका बाल विकास केन्द्रका शिक्षकलाई तालिम दिएको हो ।

विद्यालय एक बाल विकास केन्द्र निर्माण गर्ने तथा आवश्यकताका आधारमा समुदायमा आधारित बाल विकास केन्द्र स्थापना गरी पालिकाले नियुक्त गरेका ३१ जना शिक्षकलाई आधारभूत तालिम दिएको छेडागाड नगरपालिकाले जनाएको छ । छेडागाड नगरपालिका र पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोटद्वारा सञ्चालित अवसर परियोजनाले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकको महत्वपूर्ण भूमिका हुने भएकाले बाल विकास केन्द्रका शिक्षकलाई तालिम दिएको छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले बताउनुभयो ।

‘समृद्ध छेडागाड, शिक्षित छेडागाड’ बनाउने लक्ष्य लिएको पालिकाले शतप्रतिशत बालबालिकालाई शिक्षाको पहुँच पर्‍याउन नगरपालिकाले ६८ वटा बाल विकास केन्द्रलाई बढाएर १ सय ७ वटा निर्माण गरेको छ । बाल विकास केन्द्रमा नगरपालिकाले नयाँ नियुक्ति गरेको शिक्षकहरुको क्षमता अभिवृद्धि गरी शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षामा चाहिने गतिविधिहरु सञ्चालन गरेको नगर प्रमुख महताराले बताउनुभयो ।

कालिका बाल विकास केन्द्रकी शिक्षिका तारादेवी विष्टले नगरपालिकाले आधारभूत तालिम दिएर शिक्षण सिकाइमा हौसला र ऊर्जा दिएको बताउनुभयो । आधारभूत तालिममा शिक्षकहरुलाई बाल विकासको अवधारण, कक्षा व्यवस्थापन, स्थानीय सामग्रीको निर्माण तथा संकलन शूक्ष्म शिक्षणका बारेमा जानकारी गराएको छेडागाड नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्