नेपाली खेलकुदको डिजिटल अभिलेख शुरू



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्रहालयबीच भएको सम्झौताअन्तर्गत ‘नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट २०२०–२०२१’ सुरु भएको छ ।

यो कमिटीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुन लागेको हो । यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गरेको छ । यस कार्यक्रमलाई लिएर ओलम्पिक कमिटी र ओलम्पिक संग्रहालयबीच यसै वर्षको मार्चमा औपचारिक सम्झौता भएको थियो र अगस्टबाट काम पनि सुरु भइसकेको छ ।

नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति बृहत्रूपमा पहिलोपल्ट हुन लागेको र यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास हुनेछ । नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्न प्रयास हुन नसकेको स्थितिमा यो प्रोजेक्टले त्यसलाई परिपूर्ति गर्ने प्रयास गर्ने बताइएको छ ।

ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको शुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएको छ । ती अभिलेखलाई अब ‘डिजिटल आर्काइभ’ मा सुरक्षित गर्ने प्रयास हुनेछ । यस्तै, नेपालका खेलाडी र खेल संघबारे जानकारी संकलन गरिनेछ ।

नेपालमा विभिन्न खेलको सुरुआत कसरी भयो, खेलकुद ऐनसँग सम्बन्धित दस्तावेज, नेपाल ओलम्पिक कमिटी स्वंयको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शनसँगै नेपाली खेलकुदसँग सम्बन्धित तस्वीर र भिडियोको संकलनको प्रयास पनि गरिनेछ । यसका लागि ओलम्पिकसँग आबद्ध खेललाई बढी प्राथमिकता दिइनेछ । यो कार्यक्रमको सफलताले नेपाली खेलकुदको इतिहासले ‘डिजिटल आर्काइभ’ का रूपमा एक निश्चित आकार लिनेछ र यो सबै नेपाली खेलकुदप्रति जिज्ञासुका लागि उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्