मेसीले गरे पेलेको कीर्तिमानसँग बराबरी



लन्डन, (एजेन्सी) । 

बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको कीर्तिमानी गोलसंख्यासँग बराबरी गरेका छन् ।
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको भ्यालेन्सियासँगको खेलमा मेसीले पेलेको कीर्तिमानी बराबरी गरेका हुन् । पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोनाले २–२ गोलको बराबरीमा सो खेल टुंग्याएको थियो ।

मेसीले पेलेका नाममा रहेको एउटै क्लबका लागि सर्वाधिक गोलको रेकर्डसँग बराबरी गरेका हुन् । पेलेले ब्राजिली क्लब सान्तोसका लागि गरेको ६ सय ४३ गोलको कीर्तिमानीसँग मेसीले बराबरी गरेका हुन् । भ्यालेन्सियाविरुद्ध खेलमा कप्तान मेसीले पेनाल्टी मिस गरेपछि पनि कीर्तिमानी गोल गरेपछि बार्सिलोना बराबरीमा रोकिएको हो ।

पहिलो रोजाइको टोली लिएर उत्रिए पनि घरेलु मैदानमा निकै फितलो प्रदर्शन गरेको बार्सिलोनाले शुरुआती गोल बेहोरेको थियो । खेलको २९औं मिनेटमा भ्यालेन्सियाका कार्लेस सोलेरले हानेको कर्नर किकमा मोउच्टार डिखाबेले आकर्षक हेडिङमार्फत् गोल गरे । बार्सिलोनाको फितलो डिफेन्सको अघिल्लो भागमा अनमार्क रहेका उनलाई फ्री हेडरमार्फत् बललाई जाली चुमाउन कुनै कठिनाइ नै परेन । बार्सिलोनाका डिफेन्डरलाई जिल्ल बनाउँदै उनले सो गोल गरेका थिए ।

तर, पहिलो हाफको थप समयमा भ्यालेन्सियाका खेलाडीले बल लिएर डीबक्सभित्र पुगेका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिँदै कप्तान जोसे लुइस गयालाई सोझै रातो कार्ड दिएका थिए । भ्यालेन्सियाका खेलाडी रेफ्रीको सो निर्णयविरुद्ध जोडदार अपिल गरेपछि रेफ्रीले सो फाउललाई भिएआरमार्फत हेरे । गयाले डीबक्समा ग्रिजम्यानलाई पछाडिबाट हलुका धक्का दिएर लडाएका थिए । तर, रेफ्रीले पछि आफैं साइडपिचमा गएर भिएआर जाँच गरेपछि उनले सुरुमा दिएको रातो कार्ड रद्द गरेर पहेंलो कार्ड मात्रै दिएका थिए ।

बार्सिलोनाले पाएको पेनाल्टी भने रद्द भएन । सो पेनाल्टी मेसीले प्रहार गरे । तर, उनले तल्लो बार च्यापेर हानेको पेनाल्टी भ्यालेन्सियाका गोलकिपरले सजिलैसित रोकेपनि किपरले बल क्लियर गर्न सकेनन् । रिबान्उन्ड आएको बलमा बार्सिलोनाका युवा खेलाडी पेड्रीले छोटो दूरीको क्रस पास दिएपछि मेसीले हेडिङमार्फत् निकै कठिन अवस्थाबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

त्यस्तै, खेलको ५२औं मिनेटमा बार्सिलोनाका युवा सेन्टर डिफेन्डर रोनाल्ड अराउजोले डीबक्स भित्रबाट फ्लाइङ किकमा शानदार गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए । बार्सिलोनाको सिनियर टोलीका लागि यो उनको पहिलो गोल थियो । तर, बार्सिलोनाको अग्रता भने लामो समयसम्म टिकेन । ६९औं मिनेटमा उरुग्वेली फरवार्ड म्याक्सी गोमेजले डीबक्सभित्रबाट सहजै गोल गरेपछि खेल २–२ को बराबरीमा टुंगियो ।

बराबरीको नतिजापछि बार्सिलोनालाई अंक तालिकामा झट्का लागेको छ । पाहुना टोली भ्यालेन्सियाले क्याम्प नोउबाट एक अंक लिएर जान सफल हुँदा बार्सिलोनाले यही सिजनमा मात्रै सातौंपटक अंक गुमायो । बार्सिलोनाले १३ खेलपछि २१ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्