युभेन्ट्सको जितमा रोनाल्डो नायक



रोम, (एजेन्सी)  । 

इटालियन ‘सिरी ए’ मा युभेन्ट्सले सहज जित निकाल्दा रोनाल्डोले एकसाथ दुई तथ्यांक बनाएर नायक बनेका छन् ।

शनिबार राति ‘सिरी ए’ लिगमा युभेन्ट्सले अवे मैदानमा पार्मालाई ४–० ले हराउनेक्रममा दुई उत्कृष्ट गोल गरेपछि रोनाल्डोका नाममा नयाँ तथ्यांक बनेको हो । दुई गोलसँगै रोनाल्डोले युभेन्ट्सको जर्सीमा १ सय गोलका लागि योगदान पूरा गरेका छन् । सन् २०१८ मा स्पेनिस रियल मेड्रिडबाट युभेन्ट्स पुगेका रोनाल्डोले गोल गर्नुका साथै गोलका लागि असिस्ट संख्यागरी कुल १ सय गोलमा योगदान दिएका छन् । जसमा उनले कुल १ सय २ म्याच खेल्दै ८१ गोल गरेका छन् भने १९ असिस्ट पूरा गरेका छन् ।

उक्त खेलमा रोनाल्डोले पहिलो हाफमा निकै उचाइमा उफ्रेर दर्शनीय हेडिङ गोल गरे भने दोस्रो हाफ सुरु हुनासाथ लो सटमा अर्को उत्कृष्ट गोल गरेका थिए । पार्माविरुद्धको खेलअघि घरेलु मैदानमा युभेन्ट्सले एटलान्टासँग १–१ को बराबरी खेल्दा रोनाल्डोले पेनाल्टी मिस गरेपछि उनको आलोचना भएको थियो । तर, शनिबार राति उनले एकै खेलमा दुई गोल गर्दै सो पेनाल्टी मिस गर्दाको क्षतिपूर्ति मात्रै गरेनन्, नयाँ तथ्यांकसमेत बनाए ।

उक्त दुई गोलसँगै रोनाल्डो अब सिरी ए लिगको इतिहासमै सिंगल क्यालेन्डर वर्षमा कम्तीमा ३२ गोल गर्ने पाँच खेलाडीको सूचीमा परेका छन् । यस वर्ष २०२० मा रोनाल्डोले सिरी ए लिगमा कुल ३३ गोल गरिसकेका छन् । उनी यस लिगमा एक वर्षमा कम्तीमा ३२ गोल पूरा गर्ने अब कीर्तिमानी तेस्रो खेलाडी बनेका छन् । सिरी ए लिगले पनि अफिसियल वेबसाइटमार्फत् रोनाल्डोलाई नयाँ तथ्यांकका लागि बधाई दिएको छ ।

रोनाल्डो अब वर्ष २०२० भरिमा युरोपका शीर्ष ५ लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले यस वर्षमा सिरी ए लिगमा कुल ३३ गोल पूरा गरेका छन्, जुन टप–५ लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । त्यसैगरी, वर्ष २०२० मा क्लब र देशका लागि गरी कुल गोल संख्यामा पनि उनी ४५ नजिक पुगेको छ । उनले हालसम्म यस वर्षमा ४३ खेलबाट ४४ गोल गरेका छन् । उनले अझै २०२० को अन्तिम एक खेल खेल्नै बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्